मन्थलीमा युवतीहरुको ३ महिने ढाका बुनाई तालिम सम्पन्न



०९ साउन २०७५, रामेछाप

जिल्ला युवा समिति रामेछापले युवातीहरुको लागि सञ्चालन गरेको ३ महिने ढाका बुनाई तालिम मन्थलीमा मंगलबार सम्पन्न भएको छ । मन्थलीको शुभलक्ष्मी ढाका उद्योगसँगको सहकार्यमा सञ्चालन गरिएको सो तालिममा १० जना युवतीहरुले भाग लिएका थिए ।

कार्यक्रमको समापनमा बोल्दै सहभागी महिलाहरुले आफूले तीन महिनामा आधारभूत कुरा सिकेको भए पनि अझै थप तालिमको आवश्यकता रहेको बताए ।

तालिममा उनीहरुले ढाकाको टोपी, सल, पछ्यौरा तथा चौबन्दी चोलो बनाउन सिकेका प्रशिक्षक लक्ष्मी श्रेष्ठले बताइन् ।

कार्यक्रममा बोल्दै जिल्ला युवा समिति रामेछापको अध्यक्ष प्रकाश कार्कीले युवालाई हातमा रोजगारी दिन यो कार्यक्रम आयोजना गरिएको बताए । अहिले सिकेको सिपलाई प्रयोगमा ल्याए थप शिपको लागि पहल गर्ने पनि अध्यक्ष कार्कीले बताए ।

कार्यक्रममा युवा समितका कार्यालय प्रमुख भरतबहादुर भट्टराईले सहभागीहरुलाई सिकेको शिप व्यवहारमा उतार्न आग्रह गरेका थिए । सहभागीहरुलाई समितिका अध्यक्ष कार्कीले प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्