योगमाया फाउन्डेसन नेपालद्वारा नेपाल अपाङ्ग महिला समाजलाई खाद्यान्न वितरण



०८ साउन २०७५, काठमाडौं

समाज सुधारक योगमाया न्यौपानेको ७८ औं स्मृति दिवसको अवसरमा योगमाया फाउन्डेसन नेपालले खाद्यान्न वितरण गरेको छ। योगमायाले जलसमाधि लिएको हरिशयानी एकादशीको तिथि पारेर फाउन्डेसनले हिजो साउन ७ गते नेपाल अपाङ्ग महिला समाज, गोदबारी ललितपुरलाई उक्त खाद्यान्न वितरण गरेको हो।

योगमाया फाउन्डेसन नेपालबाट प्राप्त खाद्यान्न बुझ्दै नेपाल अपाङ्ग महिला समाजकी अध्यक्ष रिता शाक्यले नेपाल अपाङ्ग महिला समाज भनेको सबै अपाङ्ग महिलाहरुबाट नै स्थापना भएको सस्था भएको हुँदा अहिले सम्मको सबै कार्यक्रमहरु सहयोगबाट नै चलिरहेको प्रष्ट पारिन् ।

नेपाल अपाङ्ग महिला समाजले सिलाइबुनाई, सेकुरेटी तालिम जस्ता आयआर्जनमुखी कार्यक्रम र अपाङ्गता भएका महिलाहरुको निम्ति पुनर्स्थापना जस्ता कार्यक्रम पनि संचालन गर्दै आएको पनि अध्यक्ष शाक्याले बताइन। त्यसैगरी सन् २००३ देखी बौद्धिक अपाङ्ग भएका बालबालिकाहरुका निम्ति दिवासेवा समेत संचालन गरेको प्रस्टाइन्।

त्यसैगरी योगमायाको नाममा स्थापित सस्थाले योगमायाको पुण्य तिथिमा अपाङ्गता भएका महिला र बालबालिकाहरुलाई सहयोग गर्न पाउदा आफु लगायत आफ्नो सस्था हर्षित भएको योगमाया फाउन्डेसनका अध्यक्ष रामचन्द्र न्यौपानेले बताए। यो कार्यले सहयोगमा अझ बढी उर्जा थपेको पनि न्यौपानेले जनाए।

सहयोग वितरण कार्यक्रममा अध्यक्ष न्यौपाने सहित उपाध्यक्ष डम्बर बहादुर राई, सचिव एटम सदस्यहरु नवराज बस्नेत, माधब बुढाथोकी, शान्ति थापा, रुकमणि गौतम सहित मिनल्मा बस्नेत र मिनिता बस्नेतको टोलि बिहान ९ बजे गोदबारी पुगेको थियो। फाउन्डेसनले नियमित प्रयोग हुने दाल, चामल, चिउरा, चिनी, नुन, तेल लगायतको खाद्यान्न सामग्री हस्तान्तरण गरेको उक्त सहयोग हस्तान्तरण कार्यक्रमको संयोजक शान्ति थापाले बताइन्।।

वि.सं. १९९८ साल असार २२ गते हरिशयनी एकादशीको दिन दास प्रथा, छुवाछुत प्रथा, बहुबिबाह, बाल बिभाह, बाल विधुवा आदि जस्ता कुराको अन्त्यको माग राखी तत्कालिन राणा शासकलाई सचेत पार्न योगमायाले आफु लगायत आफ्ना ६७ जना अनुयायी सहित भोजपुर जिल्लाको नेपाले डाँडामा रहेको अरुण नदीमा जलसमाधि लिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्