मुआब्जामै अल्झियो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला



अब फाईल मन्त्री परिषदमा गएर अड्किएको छ , मुआब्जामा जग्गाको बदला जग्गा दिँदा निर्माण भइरहेका ठूला आयोजनामा अन्य क्षेत्रका स्थानीयले उस्तै माग राख्न सक्ने र यसले दीर्घकालीन असर पर्ने सम्भावना देखाएपछि सरकार पछि हटेको एक कर्मचारीले जानकारी दिए  ।

०७ साउन २०७५, काठमाडौं

मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण पूरा कहिले हुन्छ भन्ने कुरामा अन्यौलता कायमै छ  ।

गत २०७१ माघ १९ गतेबाट निमार्ण सुरुवात गरिएको अन्तराष्ट्रिय क्रिकेट मैदान चार वर्ष वित्दा समेत सम्पन्न हुनेमा आशंका छ ।

अन्यौलताको प्रमुख कारण हो,मैदानको पूर्व–पश्चिम क्षेत्रमा रहेको ४७ आना निजी जग्गाको मुआब्जा विवाद ।

मूलपानी डम्पिङसाइट हटेपछि २ सय ९४ रोपनी जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने ‘गुरु योजाना’ बनाएको थियो । जस अन्तर्गत ४७ आना जग्गा भने व्यक्तिगत रहेको छ । ४७ आना जग्गा धनीहरुले आफूलाई मुआब्जाका रुपमा जग्गाको सट्टा भर्ना गरिदिन माग गर्दै आएका छन् ।  

क्रिकेट मैदान निमार्ण कार्य सुरुवात गर्दाबाट नै उक्त जग्गा विवाद मिलाउने प्रयास भएता पनि पहिलो चरणको काम पूरा हुँदासमेत विवाद मिल्न सकेको छैन् ।

उक्त जग्गामा वसोवास गर्दै आएका कृष्ण लामा भन्छन्, ‘जग्गाको बदला जग्गा नै चाहिने माग गरेका थियौँ । खेलकुद मन्त्री आएर जग्गा नै दिने पहल गर्छु भन्ने वचन दिनुभएको थियो ।जग्गा सट्टा गर्ने यहाँको सबै प्रक्रिया पूरा गरेर खेलकुद मन्त्रीको टेबलमा फाईल पुगेको छ भन्ने खबर पाएका छौँ । छिट्टै केही होलाकी भन्ने आश गरेको छौँ । तर पनि हामीले जग्गा छोड्ने बित्तिकै मैदान बन्ला भन्ने चाहिँ लाग्दैन् । ’

उक्त विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयले उपसचिव रत्नबहादुर कटुवालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

जसमा राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियर विश्वमित्र सन्जेल र नारायण अर्याल सदस्य थिए  ।समितिले विवाद समाधान गर्न सकिने अवस्था रहेको प्रतिवेदन बुझाएको थियो । सरकार र स्थानीयबीच पटक–पटक छलफलपछि भने जग्गाको सट्टा भर्ना गर्ने  सहमति भएको थियो ।

युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) निर्माणाधिन क्रिकेट मैदानको निरीक्षणमा पुगेका थिए । मन्त्री विश्वकर्माले छिट्टै नै जग्गा विवादको समाधान खोज्ने प्रतिबद्धता समेत जनाएका थिए ।

उक्त विवाद नटुगिंए पनि क्रिकेट मैदानको विवादित फाइल मन्त्रिपरिषद्मा यसअघि नै पठाइसकेको बुझिएको छ ।

अब फाईल मन्त्री परिषदमा गएर अड्किएको छ , मुआब्जामा जग्गाको बदला जग्गा दिँदा निर्माण भइरहेका ठूला आयोजनामा अन्य क्षेत्रका स्थानीयले उस्तै माग राख्न सक्ने र यसले दीर्घकालीन असर पर्ने सम्भावना देखाएपछि सरकार पछि हटेको एक कर्मचारीले जानकारी दिए  ।

अब मन्त्री परिषद्को बैठकले उक्त बिषयको टुंगो नलगाए क्रिकेट मैदान बन्ने कुरामै अन्यौल छ । उक्त बिषय नटुंगिदा सरकारले वर्षेनी छुट्याउने टुक्रे बजेट बाहेकको बजेट अनुमोदन हुन सकेको छैन् ।  

स्थानीय समिप राई अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला थोरै जग्गाको विवादले रोकिनु लज्जास्पद भएको बताउँछन् । उनी भन्छन्,‘राष्ट्रिय गौरवको आयोजना सानो विवादमा रोकिनु सरकारको लाचारीपना हो । १६ करोड लागतमा बनाइएको भनिएको संरचना हेर्दा अन्तराष्ट्रिय स्तरको देखिदैन । यसमा ठेकेदारको चरम लापवार्ही देखिन्छ । यसलाई नजिकबाट नियाल्दा छिट्टै बन्छ जस्तो लाग्दैन । ’

२०७१ सालमा प्रेरा मुन्ना एण्ड आचार्य जेभी कम्पनीले क्रिकेट मैदानको पहिलो चरणको काम २०७३ साल असार मसान्तसम्ममा सिध्याउने गरी टेन्डर पाएको थियो  ।

पहिलो चरण अन्तर्गत मैदान सम्याउने र ३ वटा प्याराफिटको ब्लक बनाउने कार्य हो  । तर विभिन्न कारण देखाउँदै कम्पनी र राष्ट्रिय खेलकुद परिषद्बीच तीन पटक म्याद थप भयो ।

०७२ को भूकम्प र त्यसलगत्तैको नाकाबन्दीका कारण निर्माण कार्यको पहिलो र दोस्रो चरणमा ६–६ महिना म्याद थप गरिएको थियो । दुई पटकको म्याद थपमा काम नसकेपछि पुनः राखेप र कम्पनीबीच तीन महिनाको म्याद थप गर्दा कार्य सम्पन्न गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वामित्वमा रहेको मूलपानी क्रिकेट मैदानको गुरुयोजना आईसीसीका प्रतिनिधिले तयार पारेका थिए ।

करिब २५ हजार दर्शक क्षमताको सुविधासम्पन्न रंगशाला बन्ने गुरुयोजनामा  मैदानसँगै खेलकुदको प्रशासनिक कार्यालय, इन्डोर हल, होस्टेल, स्वीमिङ पुल, जिम हल लगायतका विभिन्न भौतिक संरचना निर्माण गरिनेछ ।

निर्माणको ४ वर्ष बितिसक्दा सामान्य मैदान बनाउने र ३ वटा प्याराफिट बनाउने कामबाहेक अन्य काम भएको छैन ।

मुलपानी क्रिकेट मैदानका सुपरिवेक्षक एवं एथलेटिक संघका सचिव आरेके विष्ट पिच निमार्ण भइरहेको बताउँछन् । उनी भन्छन् हाल पिच निर्माणको काम भइरहेको छ ।  निर्माण भएको मैदानलाई तार जाली लगाउनेतर्फ अघि बढेका छौ ।

जग्गाको विवाद टुंगो लाग्ने र गुरु योजना अनुसार काम भएमा तीन वर्षमा रंगशालाको काम सम्पन्न हुने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्