ज्योतिष हरिहर अधिकारी नायक बन्दै



०६ साउन २०७५, काठमाडौँ

दुईटा नाउमा खुट्टा राखेर गन्तव्यमा पुग्न सकिँदैन । जुनसुकै काम होस् वा पेशा, एउटै गर्दा फलदायक हुन्छ । दुईटा नाउमा खुट्टा राखेर यात्रा गर्दा दुर्घटनाको शिकार भएका यहाँ धेरै उदाहरणहरु छन् ।

माथिको प्रशंग जोड्नुको पछाडि चर्चित युवा ज्योतिष हरिहर अधिकारी हुन् । ज्योतिष पेशामा उनले निकै कम उमेरमै ठूलो सफलता हात पारेका छन् । उनले गरेको भविष्यवाणीलाई धेरैले विश्वास गर्ने गर्दछन् । तर यिनै ज्योतिष अब ज्योतिष मात्र नभएर चलचित्रका नायक पनि हुन् ।

चलचित्र ‘शुभ लभ’ बाट उनले नेपाली चलचित्र जगत्मा पाईला राख्दैछन् । चलचित्रमा उनलाई नव नायिका कृष्टिन पौडेलले साथ दिएकी छिन् । ज्योतिष अधिकारीले यसअघि फिल्म ’ए मेरो हजुर २’ बाट नायकको रुपमा डेब्यु गर्ने चर्चा थियो तर पछि उनको ठाउँमा अभिनेता सलिनमान बनियाँ भित्रिए ।

यो फिल्मको कथा उनी आफैंले लेखेका थिए । आफूले लेखेको कथामा निर्मित फिल्म बक्सअफिसमा हिट भएपछि उनलाई हिरो बन्ने रहर झनै बढ्यो । अन्ततः फेरि आफ्नै कथामा उनी हिरो बनेका छन् । ‘शुभ लभ’ लाई सन्तोष बाबु लोहरीले निर्देशन गर्दैछन् ।

अब नायक भन्ने कि ज्योतिष ? फिल्मको घोषण सभामा पत्रकारले ज्योतिष अधिकारीमाथि प्रश्न गरे । उनले छोटो जवाफमा भने, ’नायक ज्योतिष भन्नुहोला ।’ दुईटा नाउमा खुट्टा राखेर यात्रा गर्नु राम्रो होला ? फेरि पत्रकारको प्रश्न उनीमाथि तेर्सियो ।

उनले भने, ’मान्छे भर्सटायल भएपछि सबै कुरा गर्नुपर्छ भन्ने मेरो मान्यता हो । भगवानको पुरानो फोटो हेर्ने हो भने भगवान विष्णु र लक्ष्मीको चार(चारवटा हात छ । यो भनेको एउटा मान्छेले धेरै काम गर्नुपर्छ भन्ने आइडेन्टिफिकेसन देखाएको हो । लाइफ एक पटकको हो त्यसैले हामीले सक्ने चिज चाहिँ गर्नुपर्छ ।’

आम मानिसको जन्म मितिकै भरमा भविष्यवाणी गर्ने ज्योतिष हरिहरको ठूलो पर्दामा अभिनय कस्तो होला ? सबैका लागि चासोको विषय बनेको छ । अरुको भविष्य राम्रो र नराम्रो बताइरहँदा उनको फिल्मी करिअरको भविष्य कस्तो छ ? यसको भविष्यवाणी भने भविष्यले नै पर्दाफास गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्