
०६ साउन २०७५, काठमाडौँ
बलिउडको चर्चित ‘जी सिने अवार्ड’ यस वर्ष नेपालमा आयोजना हुने भएको छ । आउँदो नोभेम्बर २२ देखि डिसेम्बर ८ को बीचमा अवार्ड आयोजना हुने भनिएको छ । अवार्डमा बलिउड सेलिब्रिटीका साथै नेपाली सेलिब्रिटी पनि सहभागी हुनेछन् ।
केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा दुई कलाकारहरु राजेश हमाल र दिनेश डिसीलाई सामेल गरिएको थियो । सो भ्रमणका क्रममा जी टिभीका मालिक तथा भारतीय राज्य सभा सदस्य डा. सुभाश चन्द्रले नेपालमा ‘जी सिने अवार्ड’ आयोजना गर्ने इच्छा नेपाली कलाकारहरुमार्फत प्रधानमन्त्रीमा पुर्यााएका थिए । प्रधानमन्त्री ओली तत्काल यसमा सकारात्मक बनेका थिए ।
‘हिन्दी चलचित्र हेर्ने संसारभरका ८० करोड व्यक्तिहरुले हेर्ने अवार्ड समारोह नेपालमा आयोजना गर्दा भिजिट नेपाल २०२० लाई प्रत्यक्ष फाइदा पुग्ने छ,’ डीसीले भने ।
विश्वका विभिन्न देशहरुमा आयोजना हुने गरेको अवार्ड नेपालमा गर्दा नेपालको पर्यटन प्रवर्धन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । अवार्डमा भारतका चर्चित सेलिब्रिटीहरु सहभागी हुने अपेक्षा गरिएको छ ।
जी टिभीका सुभाष चन्द्रले यसै वर्षदेखि जी सिने अवार्डमा ‘बेस्ट नेपाली फिल्म’ को विधा थप गरिने घोषणा गरेका छन् । डीसीका अनुसार प्रत्येक वर्ष एउटा उत्कृष्ट नेपाली चलचित्रलाई यो विधामा अवार्ड दिइनेछ ।
भारतीय निजी टेलिभिजनको कार्यक्रम भए पनि यो अवार्ड समारोहका लागि नेपालले पनि खर्च वहन गर्ने सहमति गरिएको छ । तर, यसमा सरकारले प्रत्यक्ष खर्च नगर्ने विभिन्न विज्ञापनदाताहरु मार्फत खर्च जुटाइने डीसीले जानकारी दिएका छन् ।





