मेरो र नम्रताको सम्बन्ध बिग्रीएको छैन : आर्यन सिग्देल



०४ साउन २०७५, काठमाडौँ

नेपाली चलचित्र जगत्मा अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ सर्वाधिक रुचाइएको जोडी हो । यी दुईले सँगै अभिनय गरेको चलचित्र फ्लप भएको रेकर्ड छैन ।

‘मेरो एउटा साथी छ’, ‘क्लासिक’, ‘होमवर्क’ र ‘नोभेम्बर रेन’ जस्ता चलचित्रमा यी दुईले एकसाथ काम गरिसकेका छन् । लगातार एकपछि अर्को फिल्मले बक्सअफिसमा सफलताको झण्डा गाड्दै गर्दा आर्यन र नम्रतालाई लिएर फिल्म बनाउने निर्माता र निर्देशकको ठूलै भीड थियो ।

‘क्लासिक’ पछि सँगै नदेखिएका कारण दर्शक यो कपललाई पुन: एकपटक पर्दामा हेर्न लालायित छन् । दुवैका लागि एकअर्काको जोडी यति लक्की बनिसकेको छ कि यी दुई अन्य अभिनेता र अभिनेत्रीसँग जोडी बाँधेका फिल्म चल्नै छाडेका छन् । यी दुईले अहिलेसम्म सगैँ ४ वटा चलचित्रमा काम गरिसकेका छन् ।

केही वर्षयता आर्यन र नम्रताको सम्बन्ध ३६ को आँकडामा रहेको सिनेवृतमा चर्चा छ । आर्यन भने हल्लाको पछाडी नकुद्न आग्रह गर्छन् । उनी भन्छन्, ‘म हल्लाको पछाडि लाग्दिनँ । सम्बन्ध फिल्मले नै सपार्ने र टिकाइराख्ने हो । मैले रेखासँग फिल्म नगर्दा सम्बन्ध विग्रिएको भने । फिल्म गरेँ फेरि सम्बन्ध सुध्रिएको भने । नम्रतासँग फिल्म गर्दा सम्बन्ध राम्रो र नगर्दा नराम्रो भन्ने होइन ।’

‘मेरो कसैसँग व्यक्तिगत सम्बन्ध छैन । मेरो सम्बन्ध भनेको फिल्म र क्यारेक्टरसँग हो । फिल्म सकिएपछि उहाँ र मेरो व्यक्तिगत र प्रोफेशनल लाइफ सुरु हुन्छ’, उनले भने ।

‘टकिला सनराइज’ मा आर्यनले नम्रतासँग काम गर्न नमानेपछि दुईबीच सम्बन्धमा दरार आएको चर्चा छ । तर, उनी यो कुरा नकार्छन् । आर्यन अगाडी थप्छन्, ‘नम्रता फिल्ममा अनुवन्धित पनि भइसकेकी थिइन । तर, त्यो स्क्रिप्ट नै पूरा हुन नसकेपछि फिल्म बन्न सकेन ।’

आर्यनले भविष्यमा राम्रो प्रोजेक्ट आएमा नम्रतासगँ फेरि काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्