प्रधानमन्त्री ओलीको तुइन विस्थापन कार्यक्रमको निम्ति गायिका आनी छोइङद्वारा १ करोड सहयोग



०३ साउन २०७५, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रमकालागि गायिका आनी छोइङ डोल्मा शेर्पाले १ करोड सहयोग हस्तान्तरण गरेकी छिन् ।

हिजो बेलुकी ९ बजेबाट एकैसाथ चार टेलिभिजनहरु नेपाल टेलिभिजन, एपी वन एचडी, हिमालय टेलिभिजन र एबिसी टेलिभिजनबाट प्रसारण भएको एक लोकप्रिया टेलि कार्यक्रम ” जनतासँग प्रधानमन्त्री”को पहिलो श्रृङ्खलामा गायिका शेर्पाले सो रकम हस्तान्तरण गरेकी हुन् । उनले उक्त रकमको एउटा मात्र भएपनि झोलुङ्गे पुल बन्न सकोस् भनी कामना समेत गरिन् ।

गायिका शेर्पाले लामो समयपछि मुलुकमा एकल बहुमतको स्थिर सरकार बनेकाले जनता र राष्टको चाहनालाई सार्थकतापूर्वक अघि बढाउन शुभकामना पनि दिइन् ।

सहयोग ग्रहण गर्दै प्रधानमन्त्री ओलीले आफ्नो एक महिनाको तलब थप गरी तुइन विस्थापन कोष स्थापना गर्ने घोषणा गरे । प्रधानमन्त्रीको घोषणासंगै कार्यक्रम प्रस्तोता मनोज पाण्डेले पनि आफ्नो तर्फबाट कोषमा पचास हजार सहयोग दिने घोषणा गरे ।

प्रधानमन्त्री ओलीले अघिल्लो कार्यक्रमको पदबहालीको दिन मुलुकभरका सबै तुइन २ वर्ष भित्रमा हटाइसक्ने जनमुखी र लोकप्रिया घोषणा गरेका थए ।

प्रतिक्रिया दिनुहोस्