
०२ साउन २०७५, काठमाडौं
नेपालको कर्णाली प्रदेश मुगु जिल्लाका १७ जना १४ बर्ष मुनिका छात्राहरु स्पेनको Donosty Cup Football Tournament – 2018 मा सहभागी भै स्वदेश फर्केपछि आज अपरान्ह डिफेन्स करिअर एकेडेमी नेपाल (dCAN) थापाथलीले आफ्नो कार्यालय थापाथली, जेसीज भवनमा भव्य सम्मान गर्याे । ३४ मुलुक विच भएको १४ वर्ष मुनिका छात्राहरुलाई खेलाइएको खेलमा नेपालको सहभागीता पहिलो हो ।

कार्यक्रममा डिक्यानका संरक्षक पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल, सह–संरक्षक सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक शैलेन्द्र कुमार श्रेष्ठ, डिक्यानका अध्यक्ष पूर्व प्रहरी वरिष्ठ उपरिक्षक गुप्तबहादुर श्रेष्ठ, डिक्यानका कार्यकारी निर्देशक डा. राजेन्द्र के.सी., डिक्यानका सञ्चालक पूर्व प्रहरी उपरीक्षक गोविन्द पौडेल, डिक्यानका प्रबन्ध निर्देशक उदय राज ढकाल, पत्रकार तथा संयोजक भोजराज भाट समेतको उपस्थिति थियो ।

कार्यक्रममा संरक्षक पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालले संस्थाका तर्फबाट फुटवल खेलाडी १७ जना छात्राहरु सबैलाई डिक्यानमा प्रशिक्षण लिई सुरक्षा निकायमा सेवा प्रवेश गर्न चाहेमा पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे । उक्त कार्यक्रममा पूर्व प्रधानसेनापतिले खेलकुद मानिसको शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभावपार्ने र मुगुको शिक्षा र खेलकुदको क्षेत्रमा सक्दो सहयोग पुर्याउन खेलाडी छात्राहरुलाई सुझाव दिए ।

कार्यक्रममा पूर्व सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र कुमार श्रेष्ठले खेलकुद मानिसको जीवनको एक अभिन्न अङ्ग रहेको बताउँदै मुगुका छात्राहरुले देशको शीर उँचो बनाएकोले आफ्नो र डिक्यानको तर्फबाट बधाई तथा शुभेच्छा प्रकट गरे ।

कार्यक्रममा सहभागी छात्राहरुले आफ्नो मुगु देखि स्पेन सम्मको अनुभव सुनाउँदै अवसर पाएमा मुगुका छात्रछात्राहरुले पनि स्वदेश तथा विदेशमा आफ्नो प्रतिभा देखाउन सक्ने साहस व्यक्त गर्दै डिक्यानबाट प्राप्त छात्रवृत्तिलाई उपयोग गर्ने बताउँदै धन्यवाद प्रकट गरे ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष गुप्त बहादुर श्रेष्ठले छात्रवृत्ति प्राप्त १७ छात्राहरुले सिफारिस गरि पठाएमा आगामी दिनमा मुगुका अन्य छात्रछात्राहरुलाई डिक्यानबाट प्रशिक्षण लिन चाहेमा कुल शुल्कको ५० प्रतिशत शुल्क छात्रवृत्ति प्रदान गर्ने वचनवद्धता समेत जाहेर गरे ।






