
२९ असार २०७५, काठमाडौं
सानो उमेरमै निकै अदभूत गायन क्षमताका कारण चर्चा कमाउन सफल बाल गायक अशोक दर्जी पछिल्लो समय सामाजिक संजालमा निकै भाइरल बनिरहेका छन् ।
झापा दमकमा जन्मिएका दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिना को मन’ निकै लोकप्रिय भएको थियो । गीतले चर्चा पाएसँगै छोटो समयमा नै उनले देश तथा विदेशहरुमा निकै स्टेज शोहरु गरिरहेका छन् ।
गायक दर्जीको पारिवारीक अवस्था कमजोर भएकै कारण उर्लाबारीमा रहेका बेथेल एजुकेशन एकेडेमीले १० कक्षासम्म निःशुल्क पढ्ने र बस्ने व्यवस्था मिलाई दिएका छन् । देशविदेशमा रहेर नेपाली संगीतलाई माया गर्नुहुने सहयोगी मन तथा गायक/संगीतकार टंक बुढाथोकीको विशेष सहयोगमा अशोक दर्जीको नयाँ घर समेत बन्दै गरेको छ ।
पहिलो गीतको सफलतासँगै गायक अशोक दर्जी दोस्रो गीतको लागि परिवार सहित काठमाडौं आएका छन् । उनको दोस्रो गीत ‘चौरीका चाम्रो छुर्पी’ चाँडै नै रिलिज हुने तयारीमा रहेको छ ।





