गैंडा उपहारले चीनसँगको सम्बन्ध थप प्रगाढ : प्रधानमन्त्री ओली



२८ असार २०७५, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र चीनलाई हस्तान्तरण गरिएको एक जोडी गैंडा उपहारले आपसी सम्बन्ध थप विस्तार भएको बताएका छन् ।

नेपाल सरकारको तर्फबाट मित्रराष्ट्र जनवादी गणतन्त्र चीन सरकारलाई एक जोडी एक सिंगे गैंडा (भद्र र रुपसी) उपहार हस्तान्तरण समारोहमा प्रधानमन्त्री ओलीले आपसी भेटघाट आदानप्रदानले चीनसँगको ऐतिहासिक सम्बन्ध अझ प्रगाढ बन्दै गएको धारणा व्यक्त गरे ।

भृकुटी र अरनिकोबाट शुरु भएको नेपाल–चीनबीचको सम्बन्धलाई भद्र र रुपसीले थप गाढा बनाएको प्रधानमन्त्री ओलीको भनाइ थियो । चीनलाई हस्तान्तरण गरेका गैंडालाई चीन सरकारले उचित वातावरणमा हुर्किने व्यवस्था मिलाउने अपेक्षा गर्दै उहाँले मुलुकको भौगोलिक र जैविक विविधतामार्फत विभिन्न देशसँग नेपालको सम्बन्ध प्रगाढ बनेको बताए ।

नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०७३ असार २६ गतेको बैठकबाट चीन सरकारलाई दुई जोडी गंंैडा दिने निर्णयअनुसार चितवन राष्ट्रिय निकुञ्जबाट एक जोडी गैंडा ल्याई हस्तान्तरण गरिएको हो । अर्काे जोडी गंैडा आगामी साउनभित्र हस्तान्तरण गरिसक्ने बताइएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले साइटिस निर्यात प्रमाणपत्र र प्रजाति उत्पत्ति प्रमाणपत्र सहित एक जोडी गैंडा नेपालका लागि चिनियाँ राजदूत यु होङ मार्फत चीन सरकारलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्