चितवन राष्ट्रिय निकुञ्जबाट विभिन्न देशमा गरी २६ वटा गैँडा उपहार



२६ असार २०७५ , चितवन

चितवन राष्ट्रिय निकुञ्जबाट हालसम्म विभिन्न देशमा गरी २६ वटा गैँडा उपहारस्वरुप पठाइएको छ । सम्बन्ध सुधार र आपासी सहयोगका निम्ति उक्त गैँडा उपहारको रुपमा दिंदै आएको निकुञ्जले जनाएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार अमेरिकामा ६ र भारतमा ४ तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यानमार , जापान, जर्मनी, बेलायत र अष्ट्रियामा २/२ गैँडा पठाइएको हाे ।निकुञ्ज तथ्यांकमा हेर्दा पहिलो पटक सन् १९८५ मा भारतको दुधुवामा ४ गैँडा पठाइएको उल्लेख छ ।

पछिल्लो पटक सन् २००६ मा अष्ट्रियामा एक जोडी गैँडा पठाइएको थियो । बाह्र वर्षपछि पुनः अहिले दुई जोडी गैँडा चीन पठाउन लागिएको छ । निकुञ्जबाट पठाइएका गैँडाको संख्यामा चीनमा पठाए पश्चात ३० पुग्नेछन् । यसअघि गैँडा पठाएर भारत, म्यानमार र थाइल्याण्डबाट हात्ती ल्याइएको थियो ।

निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादवले गैँडा दिएर भारतबाट मात्र १६ वटा हात्ती ल्याइएको बताएका छन् । विभिन्न देशमा सम्बन्ध सुमधुर बनाउनका लागि उपहारस्वरुप जनावर दिइएको समेत उहाले बताए । यसबाट वंश विस्तार गर्न सहयोग पुग्ने पनि उनको दाबि छ ।

निकुञ्जबाटै विभिन्न देशलाई घडियाल र मगर गोही पनि उपहारस्वरुप पठाई सकिएको छ । चीनलाई गैँडा उपहार दिँदै गर्दा चीनबाट जेन्ट पाण्डा ल्याउन सकेमा ठूलो उपलब्धि हुने यादवको प्रतिक्रिया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्