
२५ असार २०७५,काठमाडौं
सरकारले आगामी वर्षमा कम्तीमा एक लाख युवालाई रोजगारी दिनेगरी ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्ने तयारी गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफ्नो मन्त्रालय अन्तर्गत विनियोजित बजेटमाथि राष्ट्रियसभाका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्।
मन्त्री विष्टले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत रहेर रोजगारीको अवसरलाई आधारभूत तहसम्म पहुँच पुर्याउने गरी आन्तरिक रोजगारी सिर्जना गर्ने कार्यक्रम निर्माण भइरहेको जानकारी दिए।
रोजगारी दिन नसके बेरोजगार भत्ता दिने संकेत गर्दै श्रममन्त्री विष्टले भने, ‘नभए सरकारले आफ्नो दायित्व पुरा गर्छ ।’रेमिट्यान्सलाई बैकिङ प्रणालीबाट भित्र्याउने, बैदेशिक रोजगारीमा जानेलाई सिप सिकाएर पठाउने तथा समग्र बैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउनेतर्फ सरकार सचेत रहेको बताए ।
यस्तै रोजगार दाता र श्रमिकबीच असल सम्बन्ध र देशभित्र रोजगारीमा आकर्षण बढाउन साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्युनतम पारिश्रमिक निर्धारण गर्ने तयारी भइरहेको जानकारी दिए ।





