वराहक्षेत्र नगरपालिकालाई पर्यटन क्षेत्रका रुपमा विकास गरिने



२४ असार २०७५, इटहरी

बराहक्षेत्र नगरपालिकाले नगरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गुरु योजना सार्वजनिक गर्दै आफ्नो दोस्रो नगर अधिवेशन सम्पन्न गरेको छ । ६४ करोड ३१ लाख २८ हजार ८ सय ७ रुपैयाँको वार्षिक योजना सार्वजनिक गरेको नगरपालिकाले पर्यटन मार्फत नगरलाई समृद्ध बनाउने लक्ष्य लिएको नगर प्रमुख निलम खनालले बताएका छन् । सरकारबाट प्राप्त हुने विभिन्न अनुदानको अधिकतम परिचालन गर्दै नगरभित्र स्रोतसाधन, राजस्वको पहिचान र परिचानल गरी नगरको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य रहेको खनालको भनाई छ ।

सरकरी र निजी दुबै क्षेत्रलाई समानुपातिक रुपमा प्रयोग गर्दै भौतिक तथा सामाजिक पूर्वाधार सम्पन्न नगर बनाउन सके समुन्नत, स्वाधिन, समाजवाद उन्मुख अर्थतन्त्र भएको नगरको रुपमा बराहक्षेत्रलाई चिनाउन सकिने प्रमुख खनालले बताए ।

नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख खनलाले नगरद्वारा प्रस्तुत बजेट, नीति तथा कार्यक्रममा नगरवासीका असीमित चाहना र आकांक्षालाई सन्तुलित रूपमा सम्बोधन गर्न नसकेको स्वीकार गरेका छन् । उनले कोशी बाढी पीडितको क्षतिपूर्ति दिलाउन र तिनको बसोबास व्यवस्थित गर्न नसकिएको उल्लेख गरे ।

उनले स्थानीय तह सञ्चालनका लागि आवश्यक ऐन, नियम र नीतिको अभाव भएकाले पनि नगरको काम कारबाही अघि बढाउन चुनौती रहेको उल्लेख गरे ।

६४ करोड बढीको वार्षिक योजना
वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि ६४ करोड ३१ लाख २८ हजार ८ सय ७ रुपैयाँको वार्षिक योजना सार्वजनिक गरेको छ । ३ करोड ७७ लाख १५ हजार अनुमानित आन्तरिक आय भएको नगरले सशर्त अनुदान वापत २६ रोड २३ लाख प्राप्त गरेको छ भने समानीकरण अनुदान १९ करोड २१ लाख प्राप्त गरेको छ । राजस्व बाँडफाँड अन्तर्गत संघीय सरकारबाट १२ करोड ७७ लाख १६ हजार विनियोजित भएको छ भने प्रदेशबाट ४६ लाख ४६ हजार छ । नगरले गैरसरकारी संस्थासँगको सहकार्यमा ८२ लाख १ हजार ८ सय ७ रुपैयाँको बजेटमा वार्षिक योजना तयार गरेको छ ।

आगामी आवका लागि १५ करोड ३३ लाख १६ हजारको पुँजीगत तर्फको एकीकृत बजेट प्रस्तुत गरेको नगरपालिकाले वडा कार्यालयतर्फ ७ करोड ९२ लाखको पुँजीगत कार्यक्रमको एकीकृत बजेट प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्