
२४ असार २०७५,काठमाडौं
आज विश्व जनसंख्या दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको छ।
‘परिवार नियोजन मानव अधिकार’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्व जनसंख्या दिवस मनाइएको हो।
जनसंख्याका मुद्धाहरुलाई सम्बोधन गर्न सन् १९८९ देखि हरेक वर्ष विश्व जनसंख्या दिवस मनाउने गरिएको छ।
यसै अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमा अर्यालले जनसंख्या नियन्त्रणका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरिन्।
उनले परिवार नियोजनमार्फत् जनसंख्या नियन्त्रण गर्ने राष्ट्रिय अभियानलाई अझै प्रभावकारी बनाउन सरकारले बहस, छलफलजस्ता कार्यक्रमलाई जोड दिने नीति लिएको पनि स्पष्ट पारिन्।





