
२४ असार २०७५, काठमाडौं
नेपाली कांग्रेसले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालालाई क्यानडा जान लाग्दा विमानस्थलबाट नियन्त्रणमा लिइएकोबारे सरकारको जवाफ माग गरेको छ।
राष्ट्रियसभाको आजको बैठकमा समय मागेर काँग्रेसका बद्रीप्रसाद पाण्डेले उपकुलपति कुलप्रसाद कोइरालालाई क्यानडामा आयोजना हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनका लागि अवरोध गरेर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको जिकिर गरे ।
उपकुलपति कोइरालाको नेतृत्वमा सात सदस्यीय टोली शनिबार कयानडातर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान जाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुर्याएको थियो ।
क्यानाडामा सोमबारदेखि आयोजना हुने १८औँ विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै कोइराला त्यसतर्फ जाने तयारीमा थिए । पाँचदिने सम्मेलनमा नेपालले आफ्नो धारणा राख्ने र आगामी १९औँ सम्मेलन सन् २०२४ मा नेपालमा हुने जनाइएको थियो ।





