राजनीतिक दलका कुर्सी फेरीए तर जनताका दुःख कहिल्यै फेरिएन



दार्चुला व्यास गाउँपालिका–१ राप्लाका ६५ वर्षीय गौरसिंह धामी दिनहँ तुइन तरेर मजदुरी गर्न सीमापारि पुग्छन् । भारतले निर्माण गरिरहेको धारचुला–कालापानी सडकमा काम सकेर तुइन चढेरै फर्कन्छन् । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीका रूपमा राज्यको बागडोर सम्हालेको भोलिपल्ट उनी तुइनको पालो कुर्दै थिए । सोधियो, ‘सधैं यसरी नै आवतजावत गर्ने हो ?’

उनले लामो सास फेरेर भने, ‘तुइन विस्थापन गर्ने योजना ल्याएका केपी ओली फेरि प्रधानमन्त्री भएका छन्, पाँच वर्ष प्रधानमन्त्री हुन्छन् भन्या सुन्या छु,’ उनले थपे, ‘अब तुइन चढ्नैपर्ने दिन जान्छ कि ?’

नेपालतिर निर्माणाधीन दार्चुला तिंकर सडक योजनाको कामले गति लिएको छैन । निर्माण कार्य करिब ठप्पजस्तै छ । आफ्नो भूमिमै रोजगारी नपाएपछि उनले अहिले भारतीय सडक निर्माणमा काम गर्नुपरेको छ ।

‘तुइनमा दिनहुँ आवतजावत गर्नु जोखिमपूर्ण भए पनि पेट पाल्न र परिवार पाल्न काम नगरे खान पुग्दैन,’ उनले भने । पहिलोपटक ओली प्रधानमन्त्री हुँदा तुइन विस्थापन हुने सुनेपछि हौसिएका थिए । तर, उनको खुसी अहिलेसम्म निराशामै छ । पूलबाट सहज रूपमा आवतजावत गर्ने सोच बनाएका धामीले अहिले पनि तुइनकै सहारा लिनुपरेको छ ।

ओली दोस्रोपटक प्रधानमन्त्री भएको खबरले धामी फेरि उत्साहित छन् । ‘उनले (ओली) आफ्नो घोषणाको अधुरो काम पूरा गर्लान् कि भन्ने आशा पलाएको छ,’ उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्