‘यस्तो पीडा सहनुभन्दा मर्नु जाती’ : मनिषा कोइराला



नेपाली मूलकी भारतीय अभिनेत्री मनिषा कोइरालालाई सन् २०१२ मा पाठेघरको क्यान्सर भएको खबर सार्वजनिक भएको थियो । त्यसपछि उनी उपचारका लागि ६ महिनाका लागि अमेरिका गइन् । लामो उपचारपछि सन् २०१५ मा उनी पूर्ण रुपमा क्यान्सरमुक्त भइन् ।

भारतीय समाचार माध्यमसँगको एक अन्तर्वार्तामा उनले क्यान्सरको अनुभव साझा गरेकी थिइन् । मनिषाले भनेकी थिइन्, ‘जब क्यान्सर भएको पत्ता लाग्यो तब मनमा पीडादायी उपचारका लागि डर थियो । यस्तो नाजुक समयमा परिवार र समाजको बिरामीप्रति व्यवहार कस्तो छ, त्यो निकै महत्व राख्छ । केही अनपढ मानिसहरुले क्यान्सर त कर्मको फल हो भन्ने गर्छन् । यस्ता नकारात्मक कुराले बिरामीको दिमागमा लामो समयसम्म डेरा जमाउँछ त्यसकारण वरिपरि सकारात्मक मानिसहरु हुन अत्यावश्यक छ ।’

उनी थप्छिन्, ‘जब क्यान्सर हुन्छ तब लामो उपचार चल्छ, त्यतिबेला तपाईंलाई अब के हुन्छ केही थाहा हुँदैन । क्यान्सर पूर्ण रुपमा ठिक हुन्छ वा यसले बारम्बार दुःख दिन्छ, त्यो पनि थाहा हुँदैन । क्यान्सर रोगीको स्थिती सधैं अन्योल नै हुन्छ ।’

‘क्यान्सरको उपचारको क्रममा यस्तो समय पनि आयो जब मैले हार मान्न थालिसकेको थिएँ किनभने मलाई यतिधेरै पीडा हुन्थ्यो कि पेनकिलरले पनि काम गर्न छोडेको थियो त्यतिबेला आफूले आमासँग ‘यस्तो पीडा सहनुभन्दा मर्नु जाती’ भनेको थियो । त्यस दिन मेरी आमाले निकै गाली गर्नुभयो । जब म क्यान्सरमुक्त भएँ तब जीवनप्रति मेरो दृष्टिकोण परिवर्तन भयो । म स–साना कुरामा खुसी खोज्न थालें । सूर्यास्त, सूर्योदय, हावा, पानी विशेषगरी प्रकृति मलाई मनपर्न थाले किनभने मलाई लाग्थ्यो कि यी सब हेर्नका लागि म भोलि जिउँदो रहन्छु वा रहन्नँ ।’

प्रतिक्रिया दिनुहोस्