
२२ असार २०७५, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत तथा चीन भ्रमणबारे रिपोर्टिङ गर्दै भ्रमण मुलुकको हितमा भएको बताएका छन् ।
दुवै भ्रमणबाट नेपालको स्वतन्त्र परराष्ट्र नीतिको प्रभावकारी कार्यान्वयनको प्रक्रिया अगाडि बढेको उनको भनाइ थियो । भ्रमणबाट दुवै छिमेकीसँग सकारात्मक सम्बन्ध स्थापना गर्न सहयोग पुगेको र नेपालको हितमा केही सन्धिसम्झौताहरु भएको उनले बैठकमा जानकारी गराएका थिए ।
(नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकारले सकारात्ममकरुपमै काम गरिरहेको दाबी गरे । तर, सरकारमाथि चौतर्फी प्रहार भइरहेको उनले बताए ।
बैठकमा ओलीले भने, चाहे गोविन्द केसीको केसमा होस्, चाहे अरु केसमा होस् । सबै मिलेर सरकारलाई प्रहार गर्ने काम भइरहेको छ । हामीले दृढतापूर्वक प्रतिवाद गर्नुपर्छ ।’
त्यसका लागि चाहिने एकता र दृढता पार्टी नेताहरुमा नदेखिएको भन्दै उनले असन्तुष्टि जनाए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि वर्तमान समसामयिक राजनीतिक परिस्थितिबारे रिपोर्टिङ गरेका थिए । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयको रिपोर्टिङका साथै पार्टीको नियमावलीबारे छलफल भएको जानकारी दिए ।
श्रेष्ठका अनुसार राजनीतिक स्थितिको थप समीक्षाा र तीनै तहका सरकारको कामकारबाहीबारे छलफल गर्न स्थायी कमिटीको अर्को बैठक बस्ने भएको छ । “संघ, प्रदेश र स्थानीय सरकारका कामकारबाहीको समीक्षा गर्न र अझ प्रभावकारी बनाउन स्थायी कमिटीको छुट्टै बैठक बस्नेछ,” उनले भने ।
बैठकमा पार्टीको प्रस्तावित नियमावलीबारे स्थायी समितिका सबै सदस्यले सुझाव दिएका थिए । सबै सुझावलाई ध्यानमा राखेर सचिवालयले त्यसलाई अन्तिम रुप दिने श्रेष्ठले बताए । पार्टी कमिटिको संख्या, पदाधिकारी, कसरी सबैलाई समावेश गर्ने भन्नेबारेमा सुझावहरु प्राप्त भएको उनले जानकारी दिए ।
पार्टी महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले नियमावलीको मस्यौदा सचिवालयलाई बुझाइसकेको छ ।





