
२२ असार २०७५, काठमाडौं
बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषद्को वैठकले प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष तथा पत्रकार किशोर श्रेष्ठको विशेष सुविधासहितको रातो पासपोर्ट खारेज गरेको छ ।
न्युज २४ को लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँगका संचालक रवी लामिछानेको अमेरिकी नागरिकता बिषयमा प्रेस काउन्सिलले छानविन शुरु गरेपछि श्रेष्ठ समेत रातो पासपोर्ट विबादमा तानिएका थिए ।
प्रेस काउन्सिलले सिधा कुरा जनतासँग कार्यक्रमका संचालक रवी लामिछानेको उजुरीमाथि छानविन शुरु गरेपछि लामिछानेले पनि श्रेष्ठको रातो पासपोर्टको बिषय छानविन हुनुपर्ने माग गर्दै आएका थिए । बुधबार बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओलीको सिधा निर्देशनमा श्रेष्ठले लिएको रातो पार्सपोर्ट खारेजीको निर्णय गरेको हो । संयोग श्रेष्ठकी आमाको निधन भएकै दिन सरकारले उनको रातो पार्सपोर्ट खारेज गर्ने निर्णय गरेको छ ।
तत्कालिन एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महरा परराष्ट्रमन्त्री भएका बेला श्रेष्ठले रातो पासपोर्ट लिएका थिए । प्रेस काउन्सिलका अध्यक्षले रातो पासपोर्ट पाउने व्यबस्था भए पनि कार्यबहाक अध्यक्षले भने रातो पासपोर्ट पाउने व्यबस्था छैन ।





