पाँचौ इन्डोर राष्ट्रिय आर्चरी प्रतियोगिताका विजेताहरुलाई सांसद श्रेष्ठद्वारा पुरस्कार वितरण



२० असार २०७५, काठमाडौं

कास्की आर्चरी क्लब, पोखराकी केशरी आलेमगरले लक्ष्मणकुमार श्रेष्ठ स्मृति पाँचौं राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको महिला व्यक्तिगत रिकर्भमा स्वर्ण जितेकी छिन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा केशरीले राष्ट्रिय च्याम्पियन नेपाल आर्मीकी आइशा तामाङलाई ६–५ ले पराजित गरिन् ।

निर्धारित समयमा खेल ५–५ को बराबरीमा टुंगिएको थियो । त्यसपछि दुवैलाई १–१ तिर हान्न लगाइएकोमा केशरीले अधिकतम १० अंक जोडिन् । आइशाले भने नौ अंक प्राप्त गरिन् । आर्मीकै ज्ञानु अवालेले तेस्रो स्थानमा चित्त बुझाइन् ।

नेपाल आर्चरी संघद्वारा आयोजित प्रतियोगितामा पुरुष व्यक्तिगत रिकर्भमा आर्मीका रोशन नगरकोटी पहिलो भए । उनले फाइनलमा टे«डिसनल आर्चरी क्लबका लक्ष्मण पुनलाई ६–४ ले हराए । आर्मीकै प्रेम विक तेस्रो भए ।

पुरुष व्यक्तिगत स्ट्यान्डर्डमा आर्मीका तविन गुरुङ पहिलो भए । उनले फाइनलमा ट्रेडिसनलका प्रेमकुमार भट्टचनलाई ७–३ ले पाखा लगाए । वेस्ट आर्चरीका नवीन वीर बस्नेत तेस्रो भए । सो स्पर्धाको महिलामा अर्चना थापामगरले फाइनलमा सेलिना गुरुङलाई ६–२ ले निराश पार्दै स्वर्ण जितिन् । शर्मिला गुरुङले कांस्य हात पारिन् । शीर्ष तीन स्थान हात पार्ने सबै अन्नपूर्ण आर्चरी क्लबका हुन् ।

पुरुष व्यक्तिगत कम्पाउन्डमा वेस्टका प्रजित अग्रवाल च्याम्पियन बने । उनले फाइनलमा राजधानी दैनिकका सनातन मल्लको चुनौती १३७–१३१ ले समाप्त पारे । स्वयम्भू रिक्रिएसन सेन्टरका रमेश भट्टचने तेस्रो भए ।

पुरुष स्ट्यान्डर्ड टिम इभेन्टमा वेस्ट पहिलो, अन्नपूर्ण दोस्रो र आर्मी तेस्रो भयो । पुरुष रिकर्भ टिममा आर्मीले स्वर्ण, ट्रेडिसनलले रजत र कास्कीले कास्य हात पारे ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, आर्चरी संघका अध्यक्ष दीपककुमार गुरुङ, महासचिव रमेश शिवाकोटीलगायतले पुरस्कार प्रदान गरे । दुईदिने प्रतियोगितामा ५५ खेलाडीले सात स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्