कलंकीको ‘अण्डरपास’ साउन पहिलो सातादेखि सञ्चालन हुने



१९ असार २०७५, काठमाडौँ

पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ साउन पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ ।

चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो ।

कलंकी चोकमा निर्माण भइरहेको ८०० मिटर लामो चार लेनको अण्डरपासको १५ मिटर वाल ‘फिनिसिङ’ र ४०० मिटर कालोपत्र गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

साउन पहिलो सातासम्म सबै काम सकेर हस्तान्तरणको तयारी भएको आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिएका छन् । कोटेश्वर–बल्खुपुल–कलंकी १० दशमलव चार किमी सडकलाई आठ लेनमा विस्तार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ । नौ किमीको काम सम्पन्न भई एक दशमलव चार किमीको काम मात्र बाँकी रहेको जनाइएको छ ।

चिनियाँ युआन रु २१ करोड २० लाख अर्थात् नेपाली करिब रु पाँच अर्ब अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भएको हो । निर्माण व्यवसायीलाई चीनले नै रकम उपलब्ध गराउने आयोजनाले जनाएको छ ।

दोश्रो चरणमा कलंकीबाट महाराजगञ्जसम्म आठ दशमलव पाँच किमी सडक विस्तारका लागि गृहकार्य शुरु भएको सडक विभागले जनाएको छ । यो खण्डको सडक किनारका विद्युत्, टेलिफोन र खानेपानीका तार एवं पाइपलगायत अस्थायी संरचना हटाउने काम शुरु गरिएको विभागका प्रवक्ता मुक्ति गौतमले बताएका छन् । चीन सरकारले नै डिजाइन तयारी गरिरहेको यो खण्ड साउन अन्तिमसम्म प्रारम्भिक डिजाइन तयार हुने विभागले जनाएको छ ।

उक्त खण्ड विस्तारका लागि पनि चीनले नै अनुदान सहयोग गर्नेछ । २८ किमी चक्रपथमध्ये महाराजगञ्ज–कोटेश्वर खण्डका विषयमा भने कुनै प्रक्रिया अघि बढेको छैन ।
यसअघि आयोजनाले असार दोश्रो सातामै अण्डरपास सञ्चालनमा ल्याउने भने पनि फिनिसिङ र कालोपत्रको काम नसकिएकाले ढिलाइ भएको हो ।

प्रतिक्रिया दिनुहोस्