
१९ असार २०७५, काठमाडौँ
प्रधानमन्त्री के.पी. शर्मा ओली तथा कार्यवाहक अमेरिकी राजदूत पिटर मालनाकले काठमाडौँको हनुमानढोका दरबार क्षेत्रस्थित हालै मात्र जीर्णोद्धार कार्य सम्पन्न भएका गद्दी बैठक तथा अन्य चार स्मारकको संयुक्त रूपमा समुद्घाटन गरेका छन् ।
अमेरिकी सरकारको साँस्कृतिक संरक्षण सम्बन्धी राजदूत कोष (एएफसीपी) ले सात लाख अमेरिकी डलरको अनुदान प्रदान गरेको थियो । त्यो संगै मियामोटो ग्लोबल डिजास्टर रिलिफ तथा नेपाल सरकारको पुरातत्व विभागसँगको साझेदारीमा २०७२ सालको भूकम्पबाट गम्भीर रूपमा क्षतिग्रस्त भएको ऐतिहासिक गद्दी बैठकको भूकम्पीय प्रबलीकरण तथा पूर्ण जीर्णोद्धार गरेको हो।
गद्दी बैठकलाई अझै भूकम्प प्रतिरोधी बनाउन र भावी पुस्ताका लागि संरक्षण गर्न जीर्णोद्धारका क्रममा स्थानीय शिल्पकार तथा परम्परागत निर्माण सामग्री तथा विधि प्रयोग गरिएको थियो। समुद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, नेपाल पुर्ननिर्माण प्राधिकरणका प्रमुख युवराज भुषाल, काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य लगायतको पनि सो अवसरमा समुपस्थित रहेको थियो।





