गाउँ डुवानमा परेपछि स्थानीयले भत्काए भारतले बनाएको गण्डक बाँध : स्थानीयलाई चौतर्फी दबाब



१९ असार २०७५, नवलपरासी ।

गण्डक नहरका कारण नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर २ लक्ष्मीपुरको बस्ती तथा गाउँ डुवानमा परेपछि स्थानीय बासिन्दाले नहरको बाँध भत्काइदिएका छन् ।

खेतमा बर्षाको पानी भरिएपछि गाउँ डुबानमा पर्ने डरले पानीको निकास दिन गण्डक नहरको बाँध भत्काएर स्थनीयले पानी नहरमा मिसाएका हु्न् । पानीले धान खेती डुबानमा परेर नष्ट हुने र थप बर्षा हुँदा बाढी गाउँमा पस्ने गरेको भन्दै बाँध भत्काउन बाध्य भएको स्थानीयले बताएका छन् ।

गण्डक नहर भारतीय पक्षको नियन्त्रणमा रहेकाले नहर तथा साईफन एवं कुलोहरुको सरसफाई भारतीय पक्षले नै गर्नु पर्ने भएपनि भारतीय पक्षले नहरको रानीनगर साईफन र कुलोहरु सफा नगर्दा गाउँ तथा खेतीयोग्य जमिन डुबानमा पर्दै आएको छ ।

गत वर्षपनि भारी बर्षाका कारण सो गाउँ डुबानमा परि बालीनाली समेत नष्ट भइ ठुलो क्षति भएकोे थियो । स्थानीयले त्यतिबेला पनि पानीको निकासका लागि नहरको बाँध भत्काउने प्रयास गर्दा स्थानीय प्रशासनले रोक लगाउदै भारतीय र स्थानीय पक्ष नहर तथा साईफन कुलो सरसफाइ गराई पानीको निकास गराउने सम्झौता गराएको थियो । तर त्यो सम्झौता अहिलेसम्म कार्यान्वन नहुँदा यसवर्ष त्यहि समस्या देखिएकाले स्थानीयले बाध्य भई गएराति नहरको बाँध काटेर पानीको निकास खोलेका हुन् ।

स्थानीले बाँध भत्काएपछि डुवानमा परेको खेतको पानी घटिसकेको र स्थानीयलाई चौतर्फी दबाब आएको बताइएको छ । सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले भने, ‘भारतीय पक्षका जिम्मेवार निकायलाई जानकारी गराईसकिएको छ । उनीहरु आएपछि छलफल गरिन्छ ।’ अध्यक्ष पाण्डेका अनुसार भारतीय नहरका कारण सो क्षेत्र बर्षेनी डुवानमा पर्ने गरेको छ ।

भारतीय नहरकै कारण आफुहरु डुवानमा पर्ने गरेपनि भारतीय पक्षले कुनै चासो नदिएको र पटक पटक क्षति भोग्नुपरेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्