
१९ असार २०७५, काठमाडौं
सन् २०१८ को वर्ल्डकपको सुरुवात भइसकेको छ । सामाजिक सञ्जालदेखि विभिन्न क्लब, पब, घरको टिभी र मोबाइल फोन वर्ल्डकप हेर्ने माध्यम बनेका छन् । चिया पसलदेखि ठूल्ठूला होटलसम्म, घरको भान्छादेखि सामाजिक सञ्जालसम्म, सडकदेखि संसदसम्म वर्ल्डकप कै मात्रै चर्चा छ ।
चार चार वर्षमा आउने फुटबलको यो महाकुम्भलाई हाम्रा सेलिब्रेटीले छोड्ने त कुरै भएन । विश्वकप फुटबल एउटा यस्तो खेल हो जुन प्रतियोगितासँग कुनै पनि क्षेत्र अछुतो रहन सक्दैन त्यस्तै नेपाली सिनेमा क्षेत्रमाप नि यो लोकप्रिय छ । हाम्रा नेपाली सिनेजगतका कलाकारहरुपनि विश्वकप फुटबलका निकै धेरै फ्यानहरू छन् । विश्वकप फुटबलाई कसरी हेरिरहनु भएको छ भन्ने प्रश्नमा कलाकारहरुको जवाफ..
हिजोआज सुटिङमा व्यस्त छु । विश्वकप फुटबल हेर्ने ठूलो रहर थियो तर सबै ठाउँमा लाइभ हेर्ने सुविधा उपलब्ध नहुने भएकाले मोबाइलमा स्कोर हेरेर अपडेट हुन्छु ।
दीपाश्री निरौला
अभिनेत्री तथा निर्देशक
म केही दिनअघिसम्म दुबईमा थिएँ । त्यहाँ समय नमिलेर राम्रोसँग खेल हेर्न पाइनँ तर अर्जेन्टिना र आइसल्यान्डको खेल भने फेसबुक लाइभमा हेरेँ । अहिले नेपालमै छु, त्यसैले परिवार तथा साथीहरूसँग बसेर हेरिरहेकी छु ।
सञ्चिता लुइँटेल, अभिनेत्री
यसपालिको विश्वकप फुटबल कहिले टेलिभिजनमा त कहिले मोबाइलबाट हेरिरहेकी छु ।
पल शाह, अभिनेता
आफूले समर्थन गरेको टिम छ भने साथीहरूसँग बसेर रमाइलो गर्दै हेरिरहेकी छु ।
ऋचा शर्मा, अभिनेत्री
साथीभाइ एवं परिवारका साथ हेरिरहेकी छु ।
नीता ढुङ्गाना, अभिनेत्री
साथीभाइ मिलेर हेरिरहेका छौं ।
रमिला न्यौपाने, गायिका
साथीभाइ जम्मा भएर हेरिरहेकी छु ।
दुर्गेश थापा, गायक तथा मोडल
म फुटबलको त्यस्तो क्रेजी त होइन, तैपनि फुटबल एकदमै मन पर्छ । त्यसैले अनलाइनमार्फत लाइभ हेरिरहेको छु ।
अमर न्यौपाने, साहित्यकार
विश्वकप फुटबल कहिले घरमै त कहिले साथीहरूसँग लाउन्जमा हेरिरहेको छु ।
शक्ति गौचन, क्रिकेटर
समय मिलेका बेला साथीहरूको ग्यादरिङमा हेरिरहेको छु, तर धेरैजसो घरमै साथीहरूसँग हेर्छु ।
बिमल घर्तीमगर, फुटबलर
आफूले समर्थन गरेको खेल आफ्नै घर–परिवारसँग बसेर हेरिरहेकी छु । कहिलेकाहीँ कसले जित्छ भनेर साथीहरूसँग लन्ज डिनरको बाजी पनि थापिरहेकी छु ।
प्रश्ना शाक्य, गायिका
विश्वकप फुटबलले गर्दा विश्वभरका मानिसका लागि महान् चाड आएजस्तै भएको छ । यस्तै स्थिति मेरो परिवारमा पनि छ । त्यसो त धेरैजसो खेल घरमै परिवारसँग हेरिरहेको हुन्छु । मैले उद्घाटन खेलचाहिँ किङ्स लाउन्जमा हेरेँ । त्यसपछि भने साथीभाइ एवं घरपरिवारसँग रमाइलो गर्दै हेरिरहेको छु ।
रामचन्द्र काफ्ले, गायक
कहिले घरमा एक्लै त कहिले साथीहरूसँग रमाइलो गर्दै हेरिरहेकी छु । मैले अनुमान गरेको र समर्थन गरेका राष्ट्रले खेल जितिरहेका पनि छन्, जसले गर्दा साथीहरूलाई बाजीमा हराइरहेकी छु ।
रेखा थापा, अभिनेत्री
विश्वकप फुटबलले यतिबेला विश्वभर उमंग ल्याएको छ । मैले यो उमंगलाई घरपरिवार एवं साथीभाइहरूमाझ साटिरहेकी छु । हामीले घरमै बसेर खेल हेरिरहेका छौँ । अब सेमिफाइनल तथा फाइनल चरणका केहि खेलचाहिँ बाहिर गएर हेर्ने योजना बनाएका छौँ ।
झरना थापा, अभिनेत्री
मैले अहिलेसम्मका खेल सकेसम्म छुटाएको छैन । कहिले एक्लै त कहिले साथीभाइहरूसँग बसेर हेरिरहेको छु । यसरी फरक–फरक वातावरणमा हेर्दा निकै रमाइलो हुँदो रहेछ ।
कालीप्रसाद बास्कोटा
गायक तथा संगीतकार





