अविरल वर्षाका कारण महोत्तरीका ५० भन्दा बढी गाउँ बाढीको उच्च जोखिममा



१९ असार २०७५, काठमाडौं

विगत तीन दिनदेखि परेको अविरल वर्षाका कारण महोत्तरीका आठ नगरपालिका र दुई गाउँपालिका बाढीको उच्च जोखिममा परेका छन् ।

जिल्लाको नदी तटीय जलेश्वर, बर्दिवास, औहरी, भंगहा, लोहारपट्टी, बलवा, गौशाला र मटिहानी नगरपालिका तथा पिपरा र सोनमा गाउँपालिकाका ५० भन्दा बढी गाउँ डुबानको उच्च जोखिममा रहेका छन् ।

प्राप्त जानकारी अनुसार नगरपालिका तथा गाउँपालिका भएर बग्ने रातु, मरहा, जंघा, विग्ही, कुटमेश्वरी लगायतका नदीमा बाढीको पानीको सतह तीव्ररुपमा बढिरहेका कारण कुनै पनि बेला नदीको पानी गाउँमा पस्न सक्ने खतरा बढेको छ ।

लगातारको वर्षाका कारण यसपालि पनि ठूलै बाढी आउन सक्ने संकेत देखिएकाले सर्वसाधारणलाई सतर्क रहन नगरपालिका र गाउँपालिका प्रमुखले आग्रह समेत गरेका छन् ।

यस्तै जिल्ला दैवीप्रकोप उद्धार समितिले पनि बाढीको खतरा रहेकोका जिल्लावासीलाई सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्