पन्ध्र वर्षको उमेरमा नायिका बनेकी भुवन चन्द, जसलाई ‘आमा’ले परिचय दियो



१८ असार २०७५, काठमाडौं

५३ वर्ष अघि राजा महेन्द्रले हाम्री भुवन भारतीय नायिका भन्दा कम रैनछिन् भनी उनको प्रशंसा गरेका थिए । अनि त उनले आफूलाई भाग्यमानी सम्झिइन् । तत्कालिन समयमा राजाबाट प्रशंसा पाउने कमै मात्र हुन्थे । उनमा एक खालको प्रतिभा थियो र पो आज नेपालकी पहिलो नायिकाको रुपमा चिनिन्छिन्, भुवन चन्द ।

वि.सं.२०२१ सालमा नेपालमा निर्माण भएको पहिलो चलचित्र ‘आमा’ बाट नायिकाका रुपमा डेब्यू गरेकी हुन् भुवनले । वि.सं. २००६ साल असार १ गते काठमाण्डौको धोवीचौरमा पिता उस्ताद भैरव बहादुर थापा र माता गुजेश्वरी थापाको एकल सन्तानका रुपमा जन्मिएकी भुवनको कला यात्रा सानै उमेरबाट शुरु भयो । बाबु गायक भएका कारण ठूला व्यक्तिहरुसँग संगत गर्न गाह्रो भएन उनलाई । न त रेडियो नेपाल नै नौलो लाग्यो ।

४-५ वर्षको उमेरबाटै रंगमञ्च मार्फत कला यात्राको थालनी गरेकी थिईन् भुवनले । पिता गायक भैरव बहादुर थापाले नाटककार बालकृष्ण समको नाटक ‘अन्धवेग’ मा छोरीको भूमिका गर्ने कलाकार खोज्ने क्रममा भुवनलाई रंगमञ्च प्रवेश गराएका थिए ।त्यसपछि त  उनको अभिनयको चर्चा चुलिन् धेरै समय लागेन। एक पछि अर्को नाटकमा विभिन्न भूमिका निर्वाह गरिन् ।

भुवनलाई स्वर्गीय गायक भैरव बहादुर थापा गायक बनाउन चाहन्थे । त्यसैले  उनले लोक गीत, राष्ट्रिय गरी ३०-४० वटा गीतमा आवाज भरेकी छिन् । यसैबीच ०१८ सालमा राष्ट्रिय नाचघरको स्थापना भएपछि उही वर्ष उनी नाचघरमा जागिरे भइन । नाचघरको पुरातत्व विभाग अन्तर्गत काम गर्न थालेकी भुवन २०३३ सालमा स्थायी जागिरे भइन् ।

नेपालमा २०२१ सालसम्म कुनै पनि चलचित्र निर्माण भएका थिएनन् । त्यतिबेला केही डकुमेन्ट्री भने बनेका थिए । राजाले कलकत्ताबाट हीरासिंह खत्रीलाई चलचित्र बनाउने आदेश भएपछि कलाकार खोज्न काठमाडौँ आएका रहेछन्। त्यतिबेला चलचित्र निर्माण हुने बहस चलेपछि कलाकार छनोटका लागि अन्तर्वाता लिइएको थियो । जसमा महिला कलाकारको तर्फबाट चैत्यदेवी , विमला श्रेष्ठ र भुवन सहभागी भए ।

चलचित्रमा अभिनय गरेको अनुभव नभएपनि विदेशी चलचित्र हेरेको अनभुव थियो भुवनलाई । अनि नायिका बन्छु भन्ने नभएपनि चलचित्र खेल्ने इच्छा भने थियो। उनलाई नायिका बन्दै गरेको जानकारी गराइएको थिएन् । नायिका बन्दैछु भन्ने कुरा उनलाई गायक तथा उक्त चलचित्रका नायक शिवशंकर मानन्धरसँग  गीतको लागि अभिनय गर्दा मात्रै थाहा भयो ।

चलचित्रको पहिलो सुटिङ स्थल चोभारमा थियो । मेक अप, केही निर्देशन पछि उनले गायक मान्धर र गायिका तारादेवीको स्वरमा सजिएको गीतमा अभिनय गरिन् । तत् पश्चात उनले सोचिन् ‘मैले हेरेको चलचित्रमा त गीतमा नायिकाले पो अभिनय गर्थिन, ए मत नायिका भएछृु ।’ 

पन्ध्र वर्षको उमेरमा नायिका बनेकी भुवनको चलचित्र ‘आमा’ २०२२ सालमा प्रदर्शनमा आयो । जतिखेर उनी सरकारको तर्फबाट कल्चर रिलेशनका लागि चीन गएकी थिइन् । चीनबाट नेपाल फर्किए पछि राजा महेन्द्रले हाम्री भुवन भारतीय नायिका भन्दा कम रहेनछिन भन्दै उनको प्रशंसा गरे । तत्कालीन अवस्थामा राजाबाट प्रशंसा भुवन कम छैनन् भनेपछि आफूलाई भाग्यमानी सम्झिइन् ।

चीनबाट पर्केपछी आफूले अभिनय गरेको चलचित्र हेरेकी उनलाई धेरै व्यक्तिहरुले प्रशंसा गरे । अनि उनको अभिनयको तारिफको चर्चा चल्यो ।उनले हीरा सिंह खत्रीकै निर्देशनमा बनेको ‘हिजो आज र भोली’मा पनि अभिनय गरिन् ।भुवन पत्रकार माइकल चन्दसँग लगभग एक वर्षको प्रेम सम्बन्ध रहिन् । उनीहरुको उक्त सम्बन्ध वि स २०३३ सालमा वैवाहिक सम्बन्धमा परिणत भयो ।

अझै रमाइलो कुरा के छ भने विवाह भएको भोलीपल्ट उनका श्रीमान् माइकल जर्मन उडे भने उनी मस्को आफ् आफ्नो कामको लागि ।
मस्कोबाट पर्के लगत्तै उनले तुलसी घिमिरेको चलचित्र कोशेली र दुई थोपा आँसु को लागि अनुरोध भयो । भुवनले उनले दुई तीन दर्जन चलचित्रमा अभिनय गरेकी छिन् । अहिले चरित्र अभिनेतीका रुपमा स्थापित चन्दलाई थुप्रै अफर आएपनि वर्षमा मनपरेको एक दुई ओटामा मात्र अभिनय गरिरहेको बताउँछिन् ।

पछिल्लो समय केही वर्ष चलचित्रमा क्षेत्रमा सक्रिय भएर हराएका चलचित्रकर्मी चलचित्र निर्माणमा सक्रिय हुन थालेका छन् । भुवन पनि हाल आस्था कला केन्द्र मार्फत केही व्यक्तिहरुसँग मिलेर चलचित्र निर्माण गर्ने जमर्कोमा पनि छिन् ।सरकारले कलाकारहरुलाई उचित सम्मान दिन नसकेको गुनासो भुवन कलाकारलाई जिउदैमा सम्मान गर्नुपर्ने तर्क गर्छिन् ।

कलाकार , गायिका अनि नायिका हुँदै नेपाली कला क्षेत्रमा अझै पनि क्रियाशील भुवनलाई पहिलो चलचित्र ‘आमा’ले जुन नाम दियो त्यो उनका प्रमुख परिचय बन्यो । नेपालको कला क्षेत्रमा पुर्याएको योग्दानको राज्यले कदर नगरे झैँ लाग्छ उनलाई । उनी भन्छिन् ‘यो उमेरमा आएर मैले राज्यको तर्फबाट प्रतिभा पुरष्कार पाएँ ।’

प्रतिक्रिया दिनुहोस्