
१७ असार २०७५ ,काठमाडौं
लामो समयदेखि बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल सडक जीर्ण हुँदा स्थानीयको जीवन कष्टकर बनेको छ ।हालै मात्र सडकको दुरावस्था विरुद्ध राजनीतिक दलका नेतासहित विभिन्न पेशामा आबद्ध प्रतिनिधि आन्दोलित बनेका छन् ।
नागरिक दबाब अभियानको नेतृत्वमा जोरपाटी चोकमा आयोजित कार्यक्रममा पूर्ण ऐक्यबद्धता जनाउँदै उनीहरुले वर्षौ अघिदेखि सडक जीर्ण भई लाखौं स्थानीयले चरम दुःख कष्ट पाउँदा समेत सरोकारवाला निकाय मूकदर्शक बनेको बताए ।
नागरिक दबाब अभियानमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी, समता मानवअधिकार तथा नागरिक समाज,नवदुर्गा महिला समुह लगायतका संघ संस्थाले ऐक्यबद्धता जनाएका छन् ।
अभियानका संयोजक तथा समाजसेवी दीपकसिंह भण्डारीले बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल सडकखण्ड राजमार्ग नभई काल मार्गमा परिणत भएको बताए । सडक बनाउन अहिलेसम्म कसैले अग्रसरता नदेखाएकाले नागरिक स्तरबाटै दबाब अभियान थालिएको भण्डारीले प्रष्ट पारे ।
कार्यक्रममा सामाजिक अगुवा, अभियान्तता , मानव अधिकारवादी, साहित्यकार लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुले सडकको अवस्थाबारे आफ्नो धारणा राखेका थिए ।





