पाँच वर्षमा देखिने काम हुन्छ : मुख्यमन्त्री राई



१७ असार २०७५, इटहरी

प्रदेश नंं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ५ वर्षमा देखिने खालको काम गर्ने बताएका छन् । एभिन्युज खबरको ११ औँ वार्षिकोत्सवको अवसरमा टेलिभिजन इटहरीले आयोजना गरेको संघीय बजेट र प्रादेशीक विकास नामक सार्वजनिक सुनुवाईमा बोल्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री राईले यस अघि सिमित समयलाई संघीय सरकारले दिएको बजेट प्रदेश  सरकारले संयन्त्रको अभावमा खर्च गर्न नसकेको भएता पनि यो आर्थिक वर्षको बजेट भने शतप्रतिशत खर्च हुने र त्यसले विकासको मुल फटाउने दावी गरे । राईले पर्यटन प्रदेश १ को मुख्य आम्दानीको स्रोत भएको बताउँदेै यसबाट अधिकतम् आम्दानी लिन प्रदेश सरकार लागि सकेको बताए । कार्यक्रममा बोल्दै अर्थविद् पिके झाँले संघीय र प्रदेश १ सरकार दुबैले ल्याएको बजेट विकासमुखी भएता पनि कार्यान्वयनमा भने शंखा रहेको बताए । प्रदेश १ छिमेकी भारत र चीनको नजिक भएकाले फाईदा लिन सक्ने सम्भावना भएता पनि पर्याप्त र आधुनिक भौतिक पुर्वाधारको कमीले आम्दानी लिन नसकेको उनको भनाई थियो ।

एभिन्युज टेलिभिजनका प्रबन्ध निर्देशक भाष्कर राजकर्णीकारले प्रदेश १ सम्भावनाले भरिएको प्रदेश रहेको बताउँदै प्रदेशले समग्र देशलाई नै नेतृत्व गर्न सक्ने बताए । प्रादेशीक प्रशारणको आरम्भ गरी प्रदेशका सवाललाई अझ सशक्त रुपमा उठाउने बताए । कार्यक्रम इटहरीको त्रियुगा होटलमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्