
१५ असार २०७५, काठमाडौँ
बूढानिलकण्ठ पशु स्वास्थ्य सेवा शाखा र भेटनरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वरको संयुक्त आयोजनामा बूनपा १२ मा रहेका मासुपसलहरुको अनुगमन गरिएको छ ।

बूनपा १२ का वडाध्यक्ष शम्भु भट्टराईको नेतृत्वमा भएको अनुगमनमा भेटनरी जनस्वास्थ्य कार्यलयका हरिलाल कडेँल, आपूर्ति व्यवस्था विभागका रमेश श्रेष्ठ, भेटनरी स्वास्थ्य प्रमुख डा. सलिना मानन्धर, बूनपा पशु चिकित्सक प्रमुख काजी बहादुर श्रेष्ठ, स्वास्थ्य पशु प्राविधिक निर्मला गैरे, वडा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

बूनपा वडा नं. १२ स्थित निलो माईक्रोपार्क र तेन्जिङ चोक वरपर अनुगमनको क्रममा सबै पसलहरुको मूल्यमा एकरुपता नभएको, पसल नै दर्ता नगरी संचालन गरेको र ६० केजी सम्म सडेको मासु फेला परेको थियो ।

अनुगमनकर्ताले मासु काट्दा सेतो एप्रोन लगाउने, खसी र कुखुराको मासु छुट्टाछुट्टै काट्ने र काट्ने ठाउँमा सेतो मार्वल प्रयोग गर्न सुझाएका थिए । साथै व्यवसायीहरुलाई मासु कपडाले छोप्ने होइन सिसा तथा जालीभित्र राख्नुपर्ने र मूल्यमा समेत एकरुपता कायम गरी १५ दिन भित्र वडा तथा नगरमा व्यवसाय दर्ता वा नविकरण गर्नका सुझाव दिएका थिए ।





