
१५ असार २०७५ ,काठमाडौं
आज असार १५ कृषकहरुको निम्ति विशेष महत्वपुर्ण दिन । मानो रोपेर मुरी उब्जाउने महिनाको रुपमा रहेको असार महिनाको मध्य समय असार १५ को अवसरमा आज देशका अधिकांस ठाँउहरुमा रोपाई जात्र गरी हिलो खेल्दै धान दिवस मनाइएको छ ।

विशेषत आजको दिन कृषकहरुले खेतमा धान रोपाई गर्दै एक आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरंजन गर्दै दहि चिउरा खाने गर्दछन । त्यो सँगै आज १३ औँ राष्ट्रिय धान दिवस पनि हो । “व्यावसायिक धान खेतीको आधार , सामुदायिक नर्सरीको विस्तार ” भन्ने मूल नाराका साथ आज १३ औँ राष्ट्रिय धान दिवस मनाइदैछ । नेपालमा २०६२ साल देखि असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको छ । आज राष्ट्र प्रमुख तथा नेताहरुले पनि हिलो खेल्दै रोपाईं गर्ने गर्दछन ।

असार महिनाको कामको चटारोमा कृषकहरु धेरै थाकेका हुन्छन र त्यो थाकेको शरीरमा दहि चिउरा खादा शक्ति र शितलता प्राप्त हुन्छ भन्ने विश्वास अनुरुप आजको दिन दहि चिउरा खाने परम्परा चल्दै आएको पाहिन्छ । आजको दिन खेतीपाती बाहेक अन्य पेसा व्यावसायमा लागेकाहरुले पनि दहि चिउरा खाएर असार १५ मनाउने गर्दछन ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । नेपालमा धानाबालिले कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत र कृषिमा २० प्रतिशत साथै कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत योगदान पुर्याएको छ । नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको कृषि विभागले जनाएको छ ।

कृषि विभागको तथ्याङ्क अनुसार तराई क्षेत्रमा करिब ७० प्रतिशत , पहाडी क्षेत्रमा करिब २६ प्रतिशत र हिमाली क्षेत्रमा करिब ४ प्रतिशत जमिनमा धानबाली लगाउने गरिन्छ । गत बर्ष नेपालको धान उत्पादन १० प्रतिशतले घटेको पनि कृषि विभागले जनाएको छ ।





