
१५ असार २०७५, काठमाडौं
वीर अस्पतालमा सरसफाइ र रंगरोगन गर्नका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले रकम उठाएको आरोपलाई सामाजिक अभियन्ता एवं कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले खण्डन गरेका छन् । वीर अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा धुर्मुसले वीर अस्पतालको नाममा आफूहरुले चन्दा संकलन नगरेको बताएका हुन् ।
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको समेत उपस्थित रहेको पत्रकार सम्मेलनमा धुर्मुसले वीर अस्पतालको नाममा चन्दा संकलन गरिएको भन्ने हल्ला प्रति आफ्नो आपत्ति रहेको बताए ।‘चन्दाको अर्थ अर्कै हुन्छ’ धुर्मुसले भने,‘अस्पतालमा हामीले रंगरोगन गरिरहेको देखेर मानिसहरुले सहयोग गर्नुभएको हो । ‘राम्रो काम गरेको भन्दै सहयोगीहरुले अस्पतालमा उपस्थित भएर सहयोग गर्न चाहन्छु भनेपछि अस्पताललाई जानकारी गराएर सहयोग लिएको दाबी धुर्मुसले गरे ।
उनले त्यस क्रममा पाएको सहयोगलाई सामाजिक सञ्जाल मार्फत पारदर्शी ढंगले सार्वजनिक गरेको बताए । वीर अस्पतालको रंगरोगनको लागि हालसम्म १४ लाख ६४ हजार ८ सय ३५ रुपैंयाँ प्राप्त भएको धुर्मुसले जानकारी दिए । सहयोग प्राप्त भएको केही रकम खर्च भइसकेको उनले बताए ।
‘अनिदो बसेर रातिसम्म काम गर्दा धुर्मुस सुन्तली फाउण्डेशनले लुट गरेको छ भन्दा आफूलाई चित्त दुखेको गुनासो गरे ।उनले हालसम्म ४८ लाख ६४ हजार ३ सय ४४ रुपैयाँ बराबरको काम गरिएको बताए । कार्यक्रममा स्वास्थ्य मन्त्री अर्यालले वीर अस्पतालको नाममा चन्दा संकलन गैरकानूनी भएको बताइन् । उनले वीरको रंगरोगन मन्त्रालयले गर्ने स्पष्ट पारिन् ।





