
१२ असार २०७५, काठमाडौं
नेपाल वायुसेवा निगमले खरिद गरेको एयरबस ए ३३०–२०० सिरिजको ९ एन एएलवाई कलसाईनको अन्नपूर्ण विमान आज काठमाडौं आईपुगेको छ ।
२७४ सिट क्षमताको जहाजलाई निगमले अन्नपूर्ण नामाकरण गरेको छ भने नेपाल नागरिक उड्डयन प्राधिकरणले ९ एन–एएल वाई कल फाइन नाम दिएको छ ।
यूरोपेली जहाज निर्माण कम्पनी एयरवसद्वारा निर्मित उक्त जहाज बिहीबार बिहान सवा ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । १८ विजनेस क्लास सिट सहित विमानमा कुल २७४ सिट क्षमता रहेको छ । निगमका अनुसार जहाजलाई १० करोड ४८ लाख अमेरिकी डलरमा किनिएको हो ।
यो जहाजलाई एक महिनाभित्र नियमित व्यापारीक उडानमा प्रयोग गरिने र पहिलो उडान कतारको दोहामा हुने स्रोतले बताएको छ ।
२०७३ चैत २५ गते अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेशन मार्फत् एयरबस ए ३३०–२०० सिरिजका दुई विमान खरिद सम्झौता भएको थियो । निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी संचय कोषबाट नौ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको हो । संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने समय सिमा राखेको छ ।
वाइड बडी जहाज नेपाल एयरलाइन्स मात्र भन्दा पनि देशकै पर्यटन उद्योगमा कोशेढुंगाको रुपमा सावित हुने एयरलाइन्सका प्रबन्ध निर्देशक सुगरत्न कंसाकारले बताए । यो जहाजले एकपटक धेरै यात्रुमात्र होइन लामो दुरीमा सिधा उडान गर्न सक्ने भएकोले नेपाललाई बाँकी विश्वसँग सम्पर्क स्थापित गर्न सहयोगी हुने उनको भनाइ छ ।





