
१४ असार २०७५, काठमाडौं
उपचारका लागि सिङ्गापुर पुगेकी नेकपाका अध्यक्ष प्रचण्ड पत्नी सीताको स्विमिङ सिक्दै गरेको तस्वीर सार्वजनिक भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सोफामा सुतेकी भेटिएकी सीता छोरा प्रकाशको मृत्यु भएपछि विरामी पर्दै आएकी छिन् ।
उपचारमा गएकी उनलाई डाक्टरहरुको सुझाव अनुसार तनाव मुक्त गराउन स्विमिङ पुलमा लगिएको हो । प्रचण्डले उनलाई उपचारको सिलसिलामा सिङ्गापुरमा रिक्रिएसन गराइरहेका छन् । रिक्रिएसनमा तनाव मुक्त गर्ने अनेक विधि मध्ये स्वीमिङ पनि गराइन्छ ।
सीता सो तस्विरमा स्विमिङ क्याप र टीसर्ट लगाएकी देखिएकि छन् । उनलाई एक सहयोगीले पछाडीबाट मालिस गर्दै गरेको जस्तो देखिन्छ । उपचार गर्न जाँदा निराश देखिएको उनको अनुहारमा त्यति खुशी भने देखिदैन । उनलाई सहायकहरूले स्वीमिङ पनि सिकाएको बताइन्छ ।
काखका छोराछोरी गुमाउनुपर्दा सीता मानसिक रुपमा पनि त्यसलाई सहन सक्ने अवस्थामा छैनन् । प्रकाशको मृत्यु अघी उनको छोरीको समेत क्यान्सरबाट निधन भएको थियो। त्यसयता उनी निकै नै गलेको उनको अनुहारबाट देखिन्छ । उनको पटक पटक विदेशमा उपचार हुँदै आएको छ ।
सीताको तस्विर सार्वजनीक भए पनि उपचारको प्रकृया बारे दाहाल परिवारले केहि बताएको छैन । सीता सुगर, प्रेसर लगायतका विभिन्न रोगबाट पीडित रहेको जनाइएको छ । सो तस्वीर फेसबुमा प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले शेयर गरेका हुन् ।





