बाँदरको आतंकले कृषक हैरान



१२ असार २०७५, उदयपुर

मकैबाली भित्र्याउने बेला बाँदरले नष्ट गर्न थालेपछि उदयपुरको रौतामाई गाउँपालिका आँपटारका कृषक हैरान भएका छन् ।

एकहप्ताको अवधिमै बाँदरको समूहले त्यस क्षेत्रको करिव ४० रोपनी क्षेत्रफलमा लगाइएको मकैबाली नष्ट पारेको छ ।

आँपटारको कुर्लेटार, कालीमाटी, कदीमा गाउँ क्षेत्रमा लगाएको मकैबाली जंगलबाट ठूलो संख्यामा दैनिक बाँदर प्रवेश गरेर नष्ट गर्न लागेको कालीमाटीका कृषक भुपेन्द्रध्वज राईले बताए ।

राईका अनुसार एक हप्तादेखि बाँदरले गाउँको मकै बालीमा ठूलो क्षति पुर्याएको र बाँदर खेतबारीदेखि घर–घरसम्म नै आउन थालेको राईले बताए । कुर्लेटार क्षेत्रमा पनि केही दिन यतादेखि बाँदरले खेतबारीमा लगाएको मकैबाली नष्ट गर्न थालेपछि घरघरका परिवार र नानीहरुसहित रातदिन खेतबारीमा नै मकैबाली रुँगेर समय बिताउनु परेको स्थानीय रत्नबहादुर कटुवालले बताए ।

बाँदरले अतिनै दुःख दिने र मकैबाली नष्ट गर्न थालेपछि विद्यालय जाने नानीसमेत विद्यालय नगएर दिनभरि मकैबाली रुँग्न बाध्य हुनु परेको कटुवालले बताए ।

एक हप्ताभित्र झण्डै ४० रोपनी क्षेत्रफलको मकैबाली बाँदरले नष्ट गरेको समेत कटुवालले बताए ।

प्रतिक्रिया दिनुहोस्