
१० असार २०७५, काठमाडौं
३३ किलो सुन तस्करीका प्रमुख मानिएका चुडामणि उप्रेती ‘गोरे’का विषयमा विभिन्न रहस्यहरु बाहिर आउने क्रम जारी छ । ‘गोरे’ले तस्करीको सुनबाट आर्जेको रकम कालो धनलाई सेतो अर्थात वैधता दिन पत्नी र सालीको नाममा बुटिक खोली कारोवार गरेको देखिन्छ ।
सुन तस्करी र सनम हत्याकाण्डका आरोपी ‘गोरे’ले ‘गाजलु द बुटिक एण्ड पार्लर’ नामक कम्पनी दर्ता गरी संचालनमा ल्याएको अनुसन्धानका क्रममा खुलेको छ । यो बुटिक ‘गोरे’ले २०७३ जेठ १८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराएका थिए ।
बुटिकलाई ‘गोरे’की पत्नी नर्बदा खरेल ‘निरु’ र साली दुर्गा खरेलले टोखामा संचालन गर्दै आएका थिए । पत्नी नर्बदा र साली दुर्गाले न्युरोडमा रहेको ‘अस्मरा’ बुटिकबाट कपडा किनेर आफ्नो बुटिकमार्फत दुबई, अष्ट्रेलिया, अमेरिकामा रहेका नेपाली तथा भारतीयलाई आपूर्ति गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ ।
झापा जिल्ला निवासी टेरसा थापा ‘अस्मरा’ बुटिककी सञ्चालक हुन् । सुनकाण्डपछि टेरसाको सम्पर्कमा नर्बदा र दुर्गा पुगेका छैनन् ।





