दक्षिण कोरियालाई हराउँदै मेक्सिको विश्वकपको दोस्रो चरणमा प्रवेश



१० असार २०७५, काठमाडौं

विश्वकप फुटबलमा मेक्सिकोले दोस्रो जित हासिल गरेको छ । शनिबार भएको खेलमा मेक्सिकोले एशियाली देश दक्षिण कोरीयालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

जितसंगै मेक्सिको विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ भने दक्षिण कोरिया विश्वकपबाट बाहिरिएको छ । मेक्सिको विश्वकपको दोस्रो चरणमा पुग्ने पाचौ टिम बनेको छ ।

यसअघि रसिया, उरुग्वे, फ्रान्स र क्रोसिया विश्वकपको अन्तिम १६ मा पुगेका छन् । त्यस्तै दक्षिण कोरियासँगै मोरक्को, साउदी अरब, इजिप्ट, पेरु र कोस्टारिका विश्वकपबाट बाहिरीइसकेका छन् ।

मेक्सिकोको जितमा कार्लोस भेला र जाभियर हर्नानडेजले गोल गरेका थिए भने कोरीयाका लागि एक गोल सन हेंग मिनले गरेका थिए ।

खेलको २६औ मिनेटमा पेनाल्टीबाट मेक्सिकोका भेलाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको मेक्सिकोले दोस्रो हाफको ६६औ मिनेटमा हर्नानडेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर पारेका थिए । कोरियाका लागि खेलको ९० मिनेटपछिको इन्जुरी समयमा सन हेंग मिनले सान्त्वना गोल गरेका थिए ।

जाभियर हर्नानडेजले मेक्सिकोका यस गोल पछि १०४ खेलमा लागि ५० गोल गर्दै मेक्सिकोका लागि सर्वाधिक गोल गरेका छन् । त्यस्तै भेलाले हानेको पेनाल्टी यस विश्वकपको १४औ पेनाल्टी गोल हो । २०१४ को विश्वकप भरी कुल १३ पेनाल्टी गोल भएकोमा यस विश्वकपमा समुह चरणका दोस्रो खेल पनि नसकिदै पेनाल्टी गोलको संख्या १४ पुगेको छ ।

यो जितपछि समुह एफमा मेक्सिको २ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ भने स्विडेन एक खेलमा ३ अंक सहित दोस्रो स्थानाम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्