
०७ असार २०७५, सुनसरी
सुनसरी जिल्लामा अङ्गिकृत नेपाली नागरिकता लिनेको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको तथ्याङ्क अनुसार जिल्लाको कुल साढे ७ लाख जनसङ्ख्यामध्ये १० हजार ३ सय २९ जनाले बैवाहिक अङ्गिकृत नागरिकता लिएका छन् ।
भारतसँग खुल्ला सिमाना भएको सुनसरीका नागरिकले भारतीय नागरिककसँग वैवाहिक सम्वन्ध गाँस्दै जाँदा नागरिकता लिनेको संख्या बढ्दै गएको हो । विशेषत सिमावर्ती गाँउपालिकाका नेपाली केटाले भारतीय केटी विवाह गरेर ल्याएपछि प्राप्त गर्ने बैवाहिक अङ्गिकृत नागरिकता लिनेको सङ्ख्या नयाँ संविधान जारी भएपछि झनै बढेको देखिएको छ ।
वि.सं. २०७२ साल असोज ३ गते नेपालले नयाँ संविधान जारी गरेपछि २०७५ जेठ मसान्तसम्ममा १ हजार २ सय ५३ जना भारतीय महिलाले वैवाहिक अङ्गिकृत नेपाली नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीका कम्प्युटर अधिकृत प्रेमबहादुर श्रेष्ठले जानकारी दिए ।
वैवाहिक अङ्गिकृत नागरिता सबैभन्दा धेरै २०७३ सालमा ५ सय ८० जना भारतीय चेलीहरुले लिएको देखीएको छ । यसबाट बैवाहिक अँङ्गिकृत नागरिकता प्राप्तीको विषयमा नेपालको नयाँ संविधान निकै खुकुलो रहेको देखिएको छ ।





