
०७ असार २०७५, ताप्लेजुङ
पूर्वी नेपालमा बुधबार बिहान ६ मिनेटको अन्तरमा दुई वटा सामान्य भूकम्पको धक्का महशुस गरिएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई केन्द्र बनाएर बिहान ९ बजेर ५४ मिनेटमा ४ दशमलव ८ र १० बजे ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरत कोइरालाले यो धक्का अघिल्ला भूकम्पहरूको पराकम्प नभई नयाँ भूकम्प रहेको जनाए ।
ताप्लेजुङमा गत वैशाख २२ गते बेलुका ८ बजेर २२ मिनेटमा पनि ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । यसअघि गएको आइतवार राति भारतको सिक्किमलाई केन्द्रबिन्दु बनाएर गएको ४ दशमलव ७ म्याग्निच्युडको भुकम्पको धक्का समेत पूर्वि नेपालमा महशुस भएको थियो ।





