
०६ असार २०७५, काठमाडौं

देशको राजधानी काठमाडौंको सडकमा दिनप्रतिदिन दुर्घटना बढ्दै गएको छ । अत्याधिक सवारी चाप , चालकको लापरवाही र साँघुरो सडकका कारण दैनिकजसो नै दुर्घटनाले कसै न कसैको ज्यान गुमेको खबर अखबार , रेडियो र टेलिभिजनबाट प्रसारण भइरहेको हुन्छ । काठमाडौं उपत्यकाको पछिल्लो ३ वर्षको तथ्यांकलाई हेर्ने हो भने पनि दुर्घटनाको अवस्था भयावह देखिन्छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सवारी दुर्घटनाबाट आव २०७२/७३ मा १६६ जनाको मृत्यु भएको छ भने आव ७३/७४ मा १८२ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ । यता चालु आर्थिक वर्षको पहिलो १० महिनामा उपत्यकामा सवारी दुर्घटनामा १४९ जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पनि पछिल्लो समय राजधानीको सडक ज्यानमारा सडक को रुपमा परिणत भएको छ । प्रत्येक दिन कसै न कसैको सडक दुर्घटनाले कसैको परिवारमा कोलाहल मच्चिएकै छ । कसैको सपना उजाडिएको छ । जीवनभरको लागि परिवारमा पिडा छाएको छ । घरबाट गन्तब्यको लागि बाहिर निस्किएपछि गन्तब्यमा पुगीने हो वा होइन टुंगो हुदैन । कुन बेला कस्तो खबर सुनीने हो थाहा छैन । हो हामी यस्तै नै अवस्थाबाट गुज्रीएका छौ । भलै दुर्घटनाका प्रकृति फरक होलान् तर दुर्घटनाले निम्त्याएको पिडा परिवार र आफन्तजनमा नमेटिने घाउ बनेको हुन्छ ।
काठमाडौं उपत्यकामा मात्रै सवारी दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये १७ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति धेरै छन् । चालु आर्थिक वर्षको पहिलो १० महिनामा उपत्यकामा सवारी दुर्घटनामा १७ देखि ३५ वर्ष उमेर समूहका ८० जना छन् । यस्तै १६ वर्षमुनिका १५ र ३६ वर्षभन्दा माथि उमेर समूहका ५४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षमा काठमाडौं उपत्यकामा पाँच हजार १८० सवारी दुर्घटनामा १४९ जनाको मृत्यु, १८४ सशक्त घाइते र तीन हजार ४८५ सामान्य घाइते भएका छन् । हो, व्यस्त जीवनलाई सहज बनाउन शहरी जीवनको लागि सवारी साधन महत्पूर्ण रहेको हुन्छ तथापी युवाहरुको लागि भने सवारी फेसन बन्दै गएको छ । जसरी हुन्छ अरु भन्दा राम्रो बाइक चढ्ने, सडकमा अरु भन्दा फरक बन्ने अथवा अनुशाशन भन्दा बाहिर रहेर सवारी चलाउने । अहिलेको युवाहरुमा यस्तै फेसनको हाबी भएको छ । जसले गर्दा पनि दुर्घटना निम्तरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिले तीव्र गतिमा सवारी चलाउने कारणले गर्दा धेरै दुर्घटना भएको दाबी गरेको छ ।
गत आर्थिक वर्षमा पनि १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति नै सबैभन्दा बढी सवारी दुर्घटनामा मृत्यु हुने गरेको तथ्यांक छ । दुर्घटनाको दोष युवाहरुलाई मात्र दिन खोजेको हैन अन्य पनि धेरै छन् । धेरै जसो लापरवाहीपूर्ण तरीकाले सवारी चलाउँदा नै दुर्घटना निम्तिएका छन् । अर्कोतर्फ सवारी साधन धेरै र सडक साँघुरो भएका कारण कतिपय सवारी साधन ठोक्किँएर दुर्घटना हुने गरेको छ । हाल काठमाडौं उपत्यकामा ११ लाख ३२ हजार ९२५ सवारी साधन आवतजावत गर्छन् भने देशभर २७ लाखको हाराहारीमा सवारी साधन रहेका छन् । ट्राफिक दरबन्दी कम र सवारी साधनको संख्या धेरै हुँदा उपत्यकाको सवारी व्यवस्थापनमा समस्या हुँदै आएको छ । कारण जे होस् दुर्घटना हुनु, गम्भीर घाइते हुनु वा कसैको ज्यान जानु पक्कै पनि सबैको लागि पिडाको विषय रहेको छ । एउटा हासीखुशी परिवार अचानक निम्त्याएको दुर्घटनाले विक्षीप्त अवस्थामा पुगेको हुन्छ । कसैको काख रित्तीएको हुन्छ, कसैको सहारा टुटेको हुन्छ , कसैले साथी गुमाएको हुन्छ । अथवा भनै सबै तहसनहस बनेको हुन्छ ।
दिनहु जसो नै दुर्घटनाको खबर सुनीन्छ, सम्बन्धित परिवारमा विक्षीप्तता छाउँछ, तर त्यो घटना भोलीपल्टै सेलाउँछ । यो क्रम कहिले सम्म ? सडक दुर्घटना न्युनीकरणका लागि खै त प्रभावकारी कदम ? हामी कहिले सम्म चुप लागेर बस्ने ? के अब फेरी अर्को दुर्घटनाको पर्खाइमा हो ? हैन भने अब सडक दुर्घटना न्युनीकरणका लागि राज्यले प्रभावकारी कदम चाल्न आवश्यक छ । सडकमा गति सिमित गर्नको लागि कडाइ हुनुपर्दछ । सडकमा उत्रीसकेपछि अनुशाशन पालना गर्नु आवश्यक छ । पैदल यात्री पनि सजग हुनुपर्दछ । हामी सबैले आआफ्नो तर्फबाट पहल थाल्यौ भने असम्भव भन्ने के नै छ र ? शुरुवात आफैंबाट गरौं र राज्यलाई कडा नियमको लागि दवाव दिऊ ।





