अरुण तेस्रोको सुरुङमा पुरिएका ४ जनाको ३८ घण्टापछि जीवितै उद्धार



०३ असार २०७५, संखुवासभा

संखुवासभा जिल्लास्थित अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको करीब ३८ घण्टापछि आज सकुशल उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएकाको जिवितै उद्धार गरेको छ ।

सुरुङमा पुरिएरका कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारत झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भारत बिहारका ४५ वर्षीय नन्क किशोरको उद्धार गरेको हो । उनीहरुको उद्धारपछि प्रारम्भिक स्वास्थ्य परीक्षण थालिएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारीले  बताएका छन् ।

‘उहाँहरुलाई थप मनोसामाजिक उपचार र आरामका लागि सदरमुकाम ल्याउने तयारी गरेका छौं’, घिमिरेले भने, ‘अहिले घटनास्थलमा पुगेको स्वास्थ्यकर्मीको टोलीले प्रारम्भिक स्वास्थ्य जाँच गरिरहेको छ ।’

‘ढुंगामा प्वाल पारेपछि आवाज आयो’

सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार सुरुङमा फसेकाहरुलाई खोज्ने क्रममा आइतबार बिहान उद्धार टोलीले ठूलो ढुंगामा प्वाल पारेको थियो ।

‘प्वालबाट उज्यालो छिरेपछि उनीहरुको आवाज सुनियो’, घिमिरेले भने, ‘त्यसपछि डोरीको प्रयोग गरेर उनीहरुलाई उद्धार गरेका हौं ।’

उनीहरु शुक्रबार करिब ९ बजेबाट सुरुङमा फसेका थिए ।

प्रतिक्रिया दिनुहोस्