
३१ जेठ २०७५, काठमाडौँ
बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘रेस ३’ शुक्रवारबाट संसारभर एकसाथ प्रदर्शनमा आउँदैछ । यसको दुई सिरिज सुपरहिट भएका कारण पनि यो फिल्मतर्फ दर्शकको आकर्षण बढेको छ । यो चलचित्र सलमानको प्रवेशका कारण पनि बहुप्रतिक्षित बन्न पुगेको हो । ट्रेलरदेखि स्तरीय गीतसंगीतका कारण प्रतिक्षीत बनेको यो फिल्मको बुधवार साँझबाट नेपालका मल्टिप्लेक्समा एडभान्स बुकिङ खुल्ला गरिएको छ । फिल्मप्रति दर्शकको उत्साहपुर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा बुकिङ ओपन गरिएको हो ।
बुकिङ खुलेसँगै दर्शकहरुले टिकट रिजर्भ गर्न थालिसकेका छन् । राजधानी भित्र र बाहिरका अधिकांश मल्टिप्लेक्समा फिल्मको टिकट तिव्र गतिमा बुकिङ भइरहेको छ ।
सलमानको ‘रेस ३’ लाई नेपालको सबैभन्दा ठूलो चेन भएको क्यूएफएक्सले २८ शोज उपलब्ध गराएको छ । यो संख्यामा क्यूएफएक्सले आजसम्म न नेपाली न त बलिउड फिल्मलाई नै शोज बाडेको थियो ।
‘रेस ३’ ले क्यूएफएक्स अन्तगर्तको सिभिल मलमा ७ शोज, लबिम मलमा ७ शोज, छायाँमा ७ शोज, कुमारीमा ४ शोज र जय नेपालमा ३ शोज पाएको छ । यो फिल्म ‘३डी’ मा बनेका कारण क्यूएफएक्सले आफ्नो ‘३डी’ हल सिभिल मलमा १, लबिम मलमा १ र कुमारीमा २ शोज गरी ४ शोज दिएको छ ।
यस्तै, यो फिल्मलाई राजधानीका अन्य मल्टिप्लेक्सले पनि उच्च शोज दिएका छन् बिग मुभिजले १० शोज, क्यूज सिनेमाजले ’२डी’ र ’३डी’ गरि कूल १० शोज, विएसआर मुभिजले ’२डी’ र ’३डी’ गरि कूल १० शोज र एफक्यूबले ’२ डी’ र ’३ डी’ गरि कूल १५ शोज उपलब्ध गराएको छ ।
गोपीकृष्ण मुभिजले यो फिल्मको नेपाल प्रदर्शन अधिकार किनेको हो । यसअघि पनि सलमानका अधिकांश फिल्मको नेपाल वितरण अधिकार गोपीकृष्णले नै प्राप्त गर्दै आएको थियो । ‘रेस ३’ मल्टिप्लेक्ससँगै नेपालका अधिकांश सिंगल हलमा पनि रिलिज हुँदैछ ।
बलिउडका ठूला स्टारको फिल्म रिलिज हुँदा नेपाली कुनै पनि फिल्म रिलिज नहुने परम्परा यसपटक पनि दोहोरिन चुकेन । ‘रेस ३’ का कारण शुक्रवार नेपाली कुनै पनि फिल्म रिलिज नहुने भएका छन् । चलचित्रमा सलमानका साथसाथै बबि देवल, ज्याकलिन फर्नालिज, डेजि शाह लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।





