
३० जेठ २०७५, बागलुङ
आर्जेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न यहाँको एक विद्यालयको विद्यार्थीहरु तरकारी खेतीमा लागेका छन् ।
किताबी पढाइमा सीमित बनेका विद्यार्थीले कृषिको प्रयोगात्मक र व्यावहारिक शिक्षा लिन थालेका छन्् । बागलुङ नगरपालिका–१० स्थित विश्वकर्मा माविले ‘लघु कृषि अभ्यास केन्द्र’ मार्फत विद्यार्थीलाई कृषिमा उत्प्रेरित गरेको हो ।
कृषि खेतीको सीप सिक्न पाउँदा विद्यार्थी पनि खुशी छन् । विद्यालयमा आर्जन गरेको ज्ञान, सीपलाई उनीहरुले घरमा प्रयाग गर्न थालेका छन् ।
विद्यालयले एक रोपनी जग्गा भाडामा लिएर तरकारी खेती शुरु गरेको प्रअ खनालले बताए । दुईवटा टनेलमा गोलभेँडा, खुर्सानी, तिते करेलालगायतका तरकारी बाली लगाइएको छ । तरकारी लगाउनेदेखि पानी हाल्ने, गोडमेल, रेखदेख गर्ने आदि सबै काम विद्यार्थी आफैँले गर्दछन् ।
पूर्व तयारीदेखि खेती लगाउने, रेखदेख गर्ने, रोग र औषधी उपचारबारे पनि विद्यार्थी जानकार भइसकेका छन् । विद्यार्थी फुर्सदमा पालैपालो तरकारी बारीमा पुग्ने र काम गर्ने गर्छन् । तरकारी बालीलाई चाहिने मल, थाँक्रा, पानी विद्यार्थी आफैँले जोहो गर्ने गरेका छन् ।
विद्यालयले कृषि खेतीलाई थप विस्तार गर्ने योजना बनाएको छ । अभिभावक र समुदायलाई कृषि शिक्षाको महत्व जगाउने उद्देश्य रहेको विद्यालयले जनाएको छ । ‘पेशा व्यवसाय’ सम्बन्धी सैद्धान्तिक पाठ्यक्रममा आधारित रही व्यावहारिक शिक्षा दिन तरकारी खेती गरिएको प्रअ खनालले बताए । थोपा सिँचाइको प्रयोग गरेर गरिएको तरकारी खेती पूर्णरुपमा जैविक (अर्गानिक) रहेको उनको भनाइ छ ।





