
३० जेठ २०७५, इटहरी
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले देशको समृद्धि गर्ने क्रममा विकाससँगै विनास पनि भईरहेको बताएका छन् । राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघले इटहरीमा गरेको प्रदेश स्तरीय दीगो विकास लक्ष्यका लागि युवाहरुसंग अन्तरक्रिया नामक छलफल कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले सो कुरा बताएका हुुन् । घिमिरेले अहिले विकाससँगै विनास पनि भएकाले समग्र विकास योजना अघि बढाउँदा बातावरणीय प्रदु्षण मुल्याङ्कनमा विशेष ध्यान दिन जरुरी रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री घिमिरेले देशले नयाँ संविधान प्राप्त गरेर तीन तहको सरकार समेत पाएको बताउदै देशलाई सुखी एवम समृद्ध बनाउने अभियानमा अघि बढिरहेका बेला विकाससँगै त्यसले पार्ने प्रभावका विषयमा पनि घनिभूत रुपमा छलफल र अन्तरक्रिया गर्दै अघि बढ्न सकियो भनेमात्र जलबायु परिवर्तनको असरबाट मानव समुदायलाई सुरक्षित राख्ने बताए ।
मन्त्री घिमिरेले अहिले प्रदेश र केन्द्रिय सरकार समेत ऐन कानुन बनाउने अवस्थामा रहेकाले युवाहरुले यस विषयमा ब्यापक छलफल गरी निकाल्ने सकारात्मक निष्कर्ष र ठोस योजनाले ऐन नियम र कानुन बनाउन समेत सकारात्मक सघाउ पुग्ने बताए ।
गैर सरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष कमल सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश उपसभामुख सरस्वती पोख्रेल प्रदेश साँसद जयराम यादव इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम, विश्व बन्यजन्तु संरक्षण कोषका प्रतिनिधि एकराज सिग्देल र प्रदेश बन मन्त्रालयका सचिव किशोरचन्द्र गौतम र योशा गुरागाँई लगायतले बोलेका थिए ।





