
२९ जेठ २०७५, सिन्धुली
अवरुद्ध मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड पुनः सञ्चालन भएको छ । सडक माथिबाट खसेको माटो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो ।
फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीमा माथिबाट खसेको लेदो जेसिबीले हटाएपछि अहिले दिउँसोबाट पूर्णरुपमा सवारी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिएका छन् ।
सडकमा लेदो थुप्रिँदा राजधानी हिँडेका सवारी साधन र राजधानीबाट उदयपुर, ओखलढुङ्गा, दिक्तेल, खोटाङलगायतका जिल्लातर्फ गुडेका सवारी साधन अहिले गन्तव्यतर्फ लागेका छन् ।
गएराति जिल्लाको धेरैजसो भूभागमा अविरल वर्षा भए पनि लोकमार्ग अवरुद्धबाहेक अन्य क्षति नभएको जानकारी दिँदै उनले वर्षात्को समय भएकाले खोला तथा नदी आसपासका वासिन्दालाई सचेतपूर्वक बस्न र कुनै जोखिम भएमा तत्काल प्रहरीलाई खबर गर्न पनि आग्रह गरेका थिए ।





