
२९ जेठ २०७५, सुनसरी
सुनसरी सदरमुकाम इनरुवा नगरपालिकालाई खुल्ला दिशामुक्त नगरपालिका घोषणा गरीएको छ । सोमबार इनरुवामा एक कार्यक्रमको आयोजना गरी नगरलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरीएको हो । राज्य पुनःसंरचना गर्दा इनरुवा नगरपालिकामा गाभिएको साविक डुम्राहा गाउँको १ हजार ७ सय ३९ घर परिवारमा चर्पी निर्माणसँगै प्रयोगमा ल्याईएपछि इनरुवा नगरपालिका खुला दिशामुक्त घोषित गरिएको हो ।
नगरपालिकालाई खुला दिशामुक्त घोषित कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै पूर्व अर्थमन्त्री एवम नेपाली काङ्ग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले मानव सभ्यताको पहिलो शर्त नै सरसफाई र स्वस्थ जीवन भएकाले त्यसको प्राप्तिका लागि प्रत्येक नागरिकले आफ्नो घर आँगन र गाउँ टोललाई सफा राख्नुपर्ने कुरामा जोड दिए ।
कार्कीले नेपाल सरकार देशलाई नै खुला दिशामुक्त घोषित गर्ने अभियान लिएर अघि बढिरहेका बेला सुनसरीको सदरमुकाम इनरुवासँगै अन्य स्थानीय तह खुला दिशामुक्त घोषित भई सक्नु खुशीको खवरसँगै देशका लागि समेत राम्रो सन्देश जाने कार्य भएकोमा खुशी समेत ब्यक्त गरे ।
जिल्लाको २ उपमहानगरपालिका ४ नगरपालिका र ६ गाउँपालिकामा विभाजित स्थानीय तहमा रहेका १ लाख ३७ हजार ६ सय ५० घरमा चर्पी निर्माण भई प्रयोगमा आएको तथा ती स्थानीय तहमा रहेका सरकारी, गैर सरकारी निकाय एवम कार्यालय र शैक्षिक प्रतिष्ठानहरुमा समेत चर्पी निर्माण र प्रयोग भई सकेका छन् ।
संखुवासभा पनि खुल्ला दिशामुक्त बन्यो
संखुवासभा जिल्लालाई सोमबार एक कार्यक्रमकाबीच खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ ।
संखुवासभामा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सदस्य राजेन्द्र गौतमले खुला दिसामुक्त क्षेत्र घोषणा गरेका हुन् । संखुवासभा खुला दिसामुक्त घोषणा गरिएको ५४औं जिल्ला हो । कार्यक्रममा खुला दिसामुक्त क्षेत्र घोषणा गर्न सहयोग गर्ने संघ–संस्थालाई सम्मानसमेत गरियो ।





