सत्य स्थापित हुनेगरी पत्रकारिता गर्नु आजको आवश्यकता



२९ जेठ २०७५, जनकपुरधाम

आमजनताको साक्षी र सत्य स्थापित हुनेगरी पत्रकारिता गर्नु आजको आवश्यकता भएकोमा जोड दिइएको छ ।

जनकपुरधामबाट प्रकाशित हुने ‘दूधमती साप्ताहिक’को तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले सो धारणा व्यक्त गर्दै पत्रकारिता समाजलाई रूपान्तरण गर्नेतर्फ अग्रसर हुनु जरूरी भएको बताए ।

पत्रकारिताले मातृभाषा, संस्कृति, सभ्यता, देश, काल र परिस्थितिको यथार्थ स्वरूप जनसमक्ष उजागर गर्नुपर्नेमा पनि उनीहरूको जोड थियो ।

प्रदेश नं २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले लोकतन्त्रलाई संस्थागत गर्ने र जनतालाई सोको अनुभूति गराउने यात्रामा पत्रकारिताले गहन भूमिका निर्वाह गरेको बताए ।

संविधानप्रति रहेको असन्तुष्टिको सम्बोधन र संशोधनको अभियानमा पत्रकारको सकारात्मक पहलको आवश्यकता भएको पनि उनले उल्लेख गरेका थिए ।

प्रदेशसभा सदस्य रामअशीष यादवले पत्रकारिता र पत्रकारको यात्रा संघर्षमय हुने चर्चा गर्दै मातृभाषाको संरक्षण गर्नुपनि अपरिहार्य भएको बताएका थिए ।

अर्का प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले पत्रकारिता समाज रूपान्तरण गर्ने सबैभन्दा ठूलो हतियार हो भनेका थिए । प्राध्यापक डा भोगेन्द्र झाले कलम सत्य र स्वतन्त्रताको पक्ष भएमा समाजको वास्तविकता प्रष्ट हुने उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्