
२९ जेठ २०७५, काठमाडौँ
बूनपा ११ को सार्वजनिक सुनुवाई तथा छलफल कार्यक्रम ग्राम शिक्षा मावि कपनमा सम्पन्न भएको छ ।
बूनपा ११ का वडाध्यक्ष राजु अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा नगर प्रमुख उद्वब प्रसाद खरेल प्रमुख अतिथि, विशेष अतिथि उपप्रमुख रमा राई, अतिथिहरुमा प्रशासकीय अधिकृत प्रदिप पौडेल, कार्यपालिका सदस्यहरु, वडा स्तरीय राजनीतिक पार्टीका प्रतिनिधिहरु तथा समाजसेवीहरुको उपस्थित रहेको थियो । कार्यक्रम सञ्चालन रमा विश्वकर्माले गरेकी थिईन् ।

कार्यक्रमका प्रमुख अतिथि खरेलले ‘सार्वजनिक जग्गामा कुनै पनि प्रकारका भवन बनाउन नदिने र त्यस्ता जग्गामा पार्क निर्माण गरी कपनलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । बूनपा क्षेत्र होम स्टे चलाउन योग्य स्थान भएकोले ५० जनालाई नगरपालिकाले तालिमको समेत व्यवस्था गर्ने बताएका थिए ।
सार्वजनिक सुनुवाईमा स्थानीयवासीहरुले पानी, बाटो, ढल, सुरक्षा व्यवस्था, वातावरण संरक्षणको काम मात्र हैन गुणस्तरमा समेत ध्यान दिनुपर्ने सुझाए । कपनमा रहेका सार्वजनिक जग्गा तथा पर्यटकीय स्थलहरुको उचित संरक्षण हुनुपर्नेमा स्थानीयको जोड थियो ।

स्थानीयवासीको जवाफमा वडाध्यक्ष राजु अधिकारीले भने ‘सडक निर्माण, सडक बत्ती, सीसी टिभी, खानेपानी लगायतका समस्याको समाधान तीन बर्ष भित्र पुरा गर्न प्रतिबद्ध छौं ।’ ‘स्थानीयलाई भन्दा वडा र नगरलाई विकासको धेरै चासो छ, त्यसैले तपाँईहरु ढुक्क भए हुन्छ विकास पक्का हुन्छ ।’ वडाध्यक्षले जोड दिए ।

कार्यक्रममा प्रशासकीय अधिकृत पौडेलले भने, ‘अन्य वडाहरु भन्दा ११ नं. वडामा कामहरु राम्रो भएको पाउँदा खुशी लाग्यो । सम्पूर्ण वडावासी मिलेर काम गर्दा विकासमा सजिलै अगाडि बढ्न सकिन्छ ।’






