
२९ जेठ २०७५, काठमाडौं
भदौ १ गतेबाट हेर्ने हो भने चलचित्रका सेड्यूल प्याक छन् । भदौ १ मा ‘मिस्टर भर्जिन, जय शम्भु र ब्ल्याक’ नामक चलचित्रले मिति तोकेका छन् । अघिल्लो हप्ता पनि हलमा एउटा चलचित्र रिलिज हुने भएकाले भदौ १ मा ३ चलचित्रलाई हल पाउन मुश्किल पर्छ । त्यसमाथि ठूलो बलिउड चलचित्र आयो भने हरिविजोग नै हुन्छ ।
भदौ १ का चलचित्रलाई भदौ ८ मा आउन लागेको चलचित्र ‘नाई नभन्नु ल ५’ ले ठूलो चुनौती दिनेछ । ब्रान्ड र कलाकारका कारण चर्चामा रहेको ‘नाई नभन्नु ल ५’ लाई भदौ १ मा रिलिज हुने ३ चलचित्रले चाडै हल खाली गर्नुपर्ने देखिन्छ ।
यस्तै, भदौ १५ मा चलचित्र ‘चंगाचेट’ आउने फाइनल भएको छ । यो चलचित्र पनि ठूलो ब्यानरको भएकाले मल्टिप्लेक्समा कि त यसलाई ‘नाई नभन्नु ल ५’ले असर गर्नेछ या यसले ‘नाई नभन्नु ल ५’लाई असर गर्नेछ । तर, भदौ १५ मा रिलिज हुन लागेको दिपेन्द्र के खनाल निर्देशित चलचित्रलाई भदौ २२ मा रिलिज हुन लागेका २ चलचित्रले ठाडो चुनौती दिनेछन् ।
भदौ २२ मा नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाको चलचित्र ‘रामकहानी’ रिलिज हुनेछ । यस्तै, यही दिन सलोन बस्नेत र साराको चलचित्र ‘सुश्री सम्पत्ती’ आउने पनि फाइनल भैसकेको छ । यस्तो अवस्थामा भदौमा चलचित्रको जाम हुने अवस्था देखिएको छ ।





