
२८ जेठ २०७५, काठमाडौँ
शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आवास ऐन बनाएर आवासविहीनहरुको व्यवस्थापन गरिने बताएका छन् ।
राष्ट्रिय आवास कम्पनी लिमिटेडको ११ औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले कम्पनीको नियमावली, कर्मचारी व्यवस्थापनलगायतका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।
मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले संविधानमा आवासको हक सुरक्षित गरिएकाले कम्पनीले दलितलगायत विपन्न वर्गको आवासका लागि काम गर्ने दायित्व निर्वाह गर्नुपर्ने बताएका थिए ।
कम्पनीलाई संघ वा प्रदेश कुन तहअन्तर्गत राख्ने भन्ने विषयमा मन्त्रालयले गृहकार्य गर्ने वचन उनले दिएका थिए । कार्यक्रममा सांसद दिलकुमारी, कम्पनी सञ्चालक समितिका अध्यक्ष मोहन चौधरी, सञ्चालक समिति सदस्य मीरा ज्ञवाली, महाप्रबन्धक दूतबहादुर गुरुङलगायतले कम्पनीमा कर्मचारी व्यवस्थापन हुन नसक्दा काममा प्रभाव परेकाले समस्या समाधानका लागि मन्त्री राईसमक्ष अनुरोध गरेका थिए ।





