प्रदेश २ को सरकारमा ‘नेकपा’ सहभागी नहुने : अध्यक्ष दाहाल



२७ जेठ २०७५, बिराटनगर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को सरकारमा आफ्नो पार्टी जाने सम्भावना नरहेको वताएका छन् ।

बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संघीय समाजवादी फोरम, नेपाल संघीय सरकारमा समावेश भएपनि नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं २ को सरकारमा नहुने प्रष्ट
पारे ।

उनले वर्तमान अवस्थामा बहुदलीय व्यवस्था अन्तर्गत प्रतिष्पर्धात्मक निर्वाचनमा गएर सरकार निर्माण भएकाले तत्काल कार्यकारी राष्ट्रपति प्रणालीमा जाने सम्भावना नरहेको  समेत बताए। आगामी निर्वाचनमा जनताको अभिमत बुझेर  कार्यकारी राष्ट्रपति प्रणालीबारे निर्णय गरिने बताए ।

एक प्रश्नको जवाफमा तोकिएको समयमा निर्माण सम्पन्न नगर्ने व्यवसायीलाई राज्यले कारवाही गर्ने बताउँदै यस सम्बन्धमा सञ्चार माध्यममा आएजस्तो कुनै कार्य आफूबाट नभएको स्पष्ट पारे । जिम्मेवारी लिइसकेपछि तोकिएको समयमा काम पूरा गर्नु निर्माण व्यवसायीको दायित्व हो । गुणस्तरहीन काम गर्ने व्यवसायीलाई कारवाही गर्ने विषयमा मन्त्री वा कसैलाई रोक्न कुनै दबाब नदिएको स्पष्ट पारे ।

अन्त्यमा अध्यक्ष दाहालले अन्तरराष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य वृद्धि सँगै  समायोजनका लागि बाध्य भएर सरकारले नेपालमा पनि मूल्य वृद्धि गर्नुपरेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्